एसिसी प्रिमियर कप: मूलपानी क्रिकेट मैदान तयार, फोहोरमैला व्यवस्थापनमा आफै खटिए कागेश्वरीका मेयर कार्की (फोटोफिचर)

.काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा अवस्थित मुलपानी क्रिकेट मैदानमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

तयारी स्वस्प आइतबार मेयर उपेन्द्र कार्कीको नेतृत्वमा मैदान क्षेत्रमा सरफाई गरियो ।

खेलकुद नगरीको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको नगरपालिकामा पहिलो पटक अन्तराष्टिय स्तरको प्रतियोगिता हुने भएपछि मेयर कार्की निकै उत्साहीत हुँदै सरसफाई अभियानमा होमिनुभयो ।

कार्यक्रममा मेयर कार्कीसहित उपमेयर शान्ता थापा, वडा नम्बर ५ का अध्यक्ष शंकर पाण्डे, ६ का अध्यक्ष प्रकाश फुयाल, ७ का अध्यक्ष भीमसेन थापा, वडा नंं ८ का वडाध्यक्ष हरिभक्ता पुडासैनीलगायत वडाध्यक्ष, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, सामाजिक संघसंस्था, स्थानीय बासिन्दाको बाक्लो सहभागिता रहेको थियो ।

सरसफाई पछि मेयर कार्कीले खेल मैदानको अवलोकन समेत गर्नु भएको थियो ।

एसिसी प्रिमियर कप यही वैशाख ५ देखि १८ गतेसम्म हुँदैछ । प्रतियोगितामा १० देशले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले मुलपानी क्रिकेट रंगशालामा साउदी अरेवियासँग वैशाख ११ गते खेल्नेछ भने बाँकी तीन खेल त्रिवि क्रिकेट मैदानमा खेल्नेछ ।

अन्तराष्ट्रिय स्तर संग जोडिएको हुनाले पनि प्रतियोगिताप्रति सबैको चासो रहेको मेयर कार्कीले बताउनु भयो । प्रतियोगितालाई प्रतिष्ठित बनाउन प्रतिबद्ध रहेकोमा उहाँले जोड दिनु भयो ।

मुलपानीमा करिब ३ सय रोपनी क्षेत्रफलमा अत्याधुनिक क्रिकेट रंगशाला बनाउने कार्य जारी छ ।

रंगशालाको माथिल्लो मैदानमा प्रतियोगिता हुनेछ । मैदानसँगै बाहिर बार, पार्किङ स्थल, शौचालय, ड्रेसिङ रुम लगायतको निर्माण कार्य सम्पन्न गरिएको छ ।

मैदानको पूर्वाधार व्यवस्थापनका लागि निरन्तर सहयोग गरिरहेको बताउँदै मेयर कार्कीले भविष्यमा पनि निरन्तर सहयोग गरिरहने उल्लेख गर्नु भयो ।

प्रिमियर कपको समूह ‘ए’ मा ओमान, कतार, मलेसिया र साउदीअरब छन् भने समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।दुवै समूहका शिर्ष दुई टीमले सेमिफाइनल खेल्नेछन् ।

प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एशिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउनेछ भने शीर्ष तीन टीमले जुलाईमा आयोजना हुने ‘एसीसी इमर्जिङ टिम्स’ एसिया कप खेल्न पाउनेछन् ।


प्रकाशित | ३ बैशाख २०८०, आईतवार २२:३३