केहि दिनभित्रै सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री प्रचण्ड (भिडियो)

काठमाडौं : प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले केहि दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको छ । प्रतिनिधि सभामा विश्वासको मत पाएलगत्तै सञ्चारकर्मीमाझ बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले दुई चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको हो ।

सरकारलाई समर्थन दिएका सबै दलहरूसँग भोलि बिहानबाटै छलफल सुरू गर्ने बताउँनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरू हुन्छ। जो जो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ। सबैसँग बसेर दुई चार दिनभित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ।

उहाँले अब आरामसँग सरकार चल्ने र विकास, निर्माणको कामले गति लिने पनि बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २७५ सांसद रहेका प्रतिनिधि सभामा सहभागी २६२ मध्ये १७२ मत पाउनु भएको छ ।
उहाँले विपक्षमा ८९ मत पाउनुभयो । उहाँले एमाले र राप्रपाको मत पाउनुभएन भने नेमकिपा तटस्थ बसेको थियो ।

प्रधानमन्त्रीलाई माओवादीसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले विश्वासको मत दिएका हुन्।

यसअघि पुस २६ गते विश्वासको मत लिँदा उहाँले संसदमा उपस्थित २७० मध्ये २६८ जना सांसदको मत पाउनु भएको थियो ।


प्रकाशित | ६ चैत्र २०७९, सोमबार २०:३१