नेपालमा १३ सय ५९ जना कोरोना संक्रमित थपिए, १३ सय ५४ जना डिस्चार्ज

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ३५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४ हजार २३६ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १ हजार ३५४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २५ हजार ५६१ उपचारपछि निको भएका छन्।

हाल १८ हजार ४०४ कोरोनाका सक्रिय संक्रमित छन्। १० हजार ९४२ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ४६२ छन्। क्वारेन्टाइनमा ६५ हजार ६१ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ५६१ पीसीआर परीक्षण गरिएको हो ।

त्यस्तै, उपत्यकामा थप ४५४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ३८६ जना, भक्तपुरका ३६ र ललितपुरका ३२ जना थपिएका हुन ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १४ जनाको निधन भएको छ । यो सहित निधन हुनेको संख्या २७८ पुगेको प्रवक्ता गौतमले जानकारी गराउनुभयो


प्रकाशित | १९ भाद्र २०७७, शुक्रबार १६:३५