एनआरएनएको १५ औ युरोपियन सम्मेलन चेक रिपब्लिकमा मे ५-७ मा हुने

काठमाडौँ : गैर आवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय समितिले आगामी मे ५ देखि ७ तारिखका दिन १५ औं क्षेत्रीय सम्मेलन आयोजना गरेको छ । चेक गणतन्त्रको राजधानी प्रागमा १५ औ युरोपियन क्षेत्रीय सम्मेलन आयोजना गरिएको हो ।

आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनको औपचारिक घोषणा गरेको हो । सम्मेलनमा विभिन्न देशबाट करिव ४०० गैर आवासीय नेपाली अभियन्ताहरू, अतिथि तथा पर्यवेक्षकहरूको सहभागिता रहने जनाइएको छ ।

सम्मेलन प्रागको होटेल इन्टरन्यासनलमा आयोजना गरिनेछ । सम्मेलन आयोजनाका निमित्त क्षेत्रीय संयोजक द्वय चिन्तामणी सापकोटा र सन्तोष भट्टराईको अध्यक्षतामा मुल आयोजक समिती बनाइ युरोप क्षेत्रका पधाधिकारीहरु ,उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने अन्तराष्ट्रिय समन्वय परिषद सदस्यहरु , सम्बन्धित रास्ट्रिय समन्वय परिषदका अध्यक्ष र महासचिबहरुलाई पदेन सदस्य तथा युरोप क्षेत्रका अन्तराष्ट्रिय समितिका पदाधिकारीहरुलाई पदेन सल्लाहकारको रूपमा चयन गरिएको छ ।

समितिको सदस्य सचिबमा आयोजक चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थीलाई जिम्मेवारी दिईएको छ । उक्त क्षेत्रीय भेलाको ब्यबस्थापनको समन्वयन गर्न गठन गरिएको युरोप क्षेत्रका पदाधिकारीहरू, चेक गणतन्त्रका अध्यक्ष र आइसिसी सदस्य रहेको स्टेरिङ्ग कमिटीको सदस्य सचिबमा चेक गणतन्त्रबाट प्रतिनिधित्व गर्ने आईसिसी सदस्य चिरन्जिबी खड्कालाई जिम्मेवारी दिइएको छ ।

सम्मेलनका लागि सबै गैर आवासीय नेपालीहरू विचको एकता, नेपाली सामानहरूको प्रवर्धन, नेपालमा संभावित संयुक्त लगानी, एनसिसीहरूको प्रभावकारि भुमिका महिलाहरुका समस्याहरू, युवा सिर्जनशिलता युवा इन्टरप्रेनरसिप तथा ज्ञान सिप र पूँजीको मातृभूमिमा स्थानान्तरणका बिषयमा बिशेष छलफल कार्यक्रमको एजेन्डा तय गरिएको छ ।

पत्रकार सम्मेलन कार्यक्रममा संघका अध्यक्ष द्वय कुल आचार्य, डा. बद्री केसी र युरोप संयोजक चिन्तामणी सापकोटा, सन्तोष भट्टराईलेले सम्मेलनको विषयमा जानकारी गराउनु भएको थियो ।


प्रकाशित | २२ फाल्गुन २०७९, सोमबार ०९:५१