शीर्षस्थानमा रहेको नेपोलीको अपराजित यात्रामा पूर्णविराम

एजेन्सी – इटालियन सिरी ‘ए’ को पछिल्लो १० खेलमा अपराजित रहेको नेपोली शुक्रबार राति लाजियोसँग १–० ले पराजित हुँदै अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

नेपोली घरेलु मैदानमा नै पराजित भएको हो । स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा घरेलु टोलीलाई पराजित गर्न लाजियोका मेटिएस भेसिनोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ६७औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

सिरी ‘ए’ मा नेपोलीको यो दोस्रो हार हो । यसअघि नेपोलीले १५ जनवरी २०२३ मा इन्टर मिलानसँग १–० को हार बेहोरेको थियो । यो सिजन उच्च लयमा रहेको नेपोलीले २५ खेलमा २१ जित र समान २ बराबरी र हारको नतिजा निकालेको छ ।

यस हारसँगै शीर्षस्थानमा रहेको नेपोलीको २५ खेलबाट ६५ अंक छ । नेपोली शीर्षस्थानमा अझै १७ अंकले अघि छ । दोस्रो स्थानमा उक्लिएको लाजियोको ४८ अंक छ ।


प्रकाशित | २० फाल्गुन २०७९, शनिबार ११:१८