थामीहरुको उद्गमस्थल राङराङथलीमा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटी, संग्रहालयलाई नेपालको गन्तव्यस्थल बनाउने प्रतीबद्धता

दोलखा: आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदैं गर्दा नेकपा एमाले दोलखाका उम्मेदवारहरूले चुनावी प्रचार अभियानलाई तीव्रता दिनुभएको छ । चु्नावी अभियानकै क्रममा प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिबाकोटीले आज मंगलबार जिल्लाको भीमेश्वर नगरपालिकामा घरदैलो अभियानलाई निरन्तरता दिनुभयो । यसै क्रममा आज बिहान भीमेश्वर नगरपालिका–१ को लामानागीस्थित थामी बस्तीमा पुगेर उम्मेदवार शिवाकोटीले थामी समुदायका अगुवाहरूसँग अन्तरक्रिया गर्नुभएको छ । उक्त अन्तरक्रियाका क्रममा थामी समुदायका समस्याका बारेमा व्यापक छलफल गरिएको छ ।

May be an image of 6 people

लामानागीमा थामी समुदायको बाक्लो बस्ती छ । भीमेश्वर नगरपालिका लामानागीसँगै रहेको अल्पसंख्यक थामी समूदायको उद्गमस्थल राङराङथलीमा एमालेकै पहलमा थामीहरुको ऐतिहासिक संग्रहालय निर्माणाधीन छ । एमाले नेतृत्वको स्थानीय सरकारको पहलमा ४ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सो समुदायका अगुवाहरूले शिबाकोटीलाई जितको अग्रिम शुभकामना दिँदै थामी समुदायको हितमा काम गर्न सुझाव पनि दिनुभएको छ । आफ्नै क्षेत्र र गाउँका व्यक्ति आफूहरूको प्राथमिकतामा पर्ने बताउँदै उहाँहरूले यो पटक संघ र प्रदेशमा समेत निर्वाचन क्षेत्र (ख) का व्यक्ति उम्मेदवार बनेकोमा आफूहरू खुशी रहेको पनि बताउनुभयो ।

सो समुदायका अगुवाहरुले थामी समुदाको ऐतिहासिक स्थल राङराङथलीको विकासका काममा एमालेको स्थानीय सरकार हुँदा बजेट बिनियोजन भई ऐतिहासिक संग्रहालय समेत निर्माण भएको र अहिले एमालेको सरकार नुहँदा बजेट विनियोजन नभएकोमा गुनासो समेत पोख्नुभएको छ । आफ्नै भेग र भूगोलका व्यक्तिले केन्द्र र प्रदेशमा पहुँच राख्दा आफ्नो क्षेत्र र समुदायमा अर्थपूर्ण काम हुने विश्वास सो समूदायका अगुवाहरूको छ ।

साथै थामी गाउँमा रहेको विद्यालयमा आवश्यक शिक्षक दरबन्दी थप गर्नका लागि समेत अगुवाहरूले उम्मेदवार शिबाकोटीसमक्ष आग्रह गर्नुभएको छ । घरदैलोका क्रममा थामी बस्तीसम्म पुग्ने स्थानीय सडकको अवस्था सुधारका लागि पनि उहाँहरूले ध्यानाकर्षण गराउनुभएको छ ।

अगुवाहरूले राख्नुभएको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार शिवाकोटीले एमालेले निर्वाचन जित्दा मात्रै सीमान्तकृत थामी समुदायसहित अल्पसंख्यक, लोपोन्मुख र पिछडिएको वर्गको हित हुने बताउनुभयो ।

त्यसका लागि मंसिर ४ गते हुने निर्वाचनमा सूृर्य चिह्नमा मतदान गरी एमालेका सबै उम्मेदवार जिताउन शिबाकोटीले अपिल गर्नुभयो । उहाँले ऐतिहासिक राङराङथली संग्रहालयलाई भीमेश्वर नगरपालिका र दोलखाको मात्रै नभएर नेपालकै आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्नेगरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।


प्रकाशित | १ कार्तिक २०७९, मंगलवार १४:११