क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिए

काठमाडौं – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने बिहीबार देखि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा जोडिएका छन् । क्यानको खेलाडी छनोट समितिले आउँदो त्रिदेशीय क्रिकेट शृङ्खलालाई लक्षित गरेर सन्दीपलाई पनि बन्द प्रशिक्षणमा बोलाएको हो ।

यसअघि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छुट्न मौका दिएको थियो । यस्तै हिजो बुधवार पोखरामा बसेको नेपाल क्रिकेट सङ्घ (क्यान) को बैठकले सन्दीपको निलम्बन फुकुवा गरेपछि उनी राष्ट्रिय टिममा फर्किएका हुन् ।

सन्दीपलाई दुई हप्तापछि हुने आईसीसी विश्व कप लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग हुने शृङ्खलालाई मध्यनजर गरेर टिममा बोलाइएको छनोट समितिले जनाएको छ ।

सन्दीपलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले अस्ति मङ्गलवार सर्वोच्च अदालतमा निवेदन दिइसकेको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा सन्दीप गएको असोज २० गते पक्राउ परेका थिए ।


प्रकाशित | १९ माघ २०७९, बिहीबार १९:१६