फेरियो महाकाली देवीस्थान विद्यालयको मुहार

धादिङ: विकट बस्ती अनि चर्किएको विद्यालय भवन । त्यहि विद्यालयमा पनि जम्मा ५ कक्षासम्म मात्रै अध्ययन अध्यापन । त्यसभन्दा माथि पढ्नका लागि कि त घण्टौं जंगलको बाटो हिडेर विद्यालय पुग्नुपर्यो कि त अध्ययन नै छोड्नु पर्ने बाध्यता । करिब ५ वर्ष अगाडिको नियती यस्तै थियो महाकाली देवीस्थान आधारभूत विद्यालयको ।

तर, अब भने अवस्था बदलिएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं ३ लेखमल्डुङमा पर्ने सो विद्यालयको मुहार फेरिएको हो । अधिकांश तामाङ समुदायका बालबालीका पढ्ने विद्यालयमा हाल मन्टेश्वरीसहित कक्षा ८ सम्म पढाई हुन्छ भने १ सय २० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

जिल्लाको दुर्गम क्षेत्रमा रहेको विद्यालय सुधारका लागि जब जर्मन बस्दै आउनु भएका गैर आवासीय नेपाली सघका संस्थापक तथा जर्मनीका लागि नेपाली महावाणिज्यदूत राम प्रताप थापाले चासो देखाउनु भयो तब विद्यालयको भौतीक पूर्वाधार मात्रै बनेन, शैक्षीक क्षेत्रमा समेत सुधार भयो ।

किन्डरहिलफे नेपाल ट्रावेल सडोर्फ जर्मनीमार्फत भौतीक पूर्वाधार र शैक्षीक साम्रागीका लागि १ करोड भन्दा बढी सहयोग गरिएको छ । यसको अलवा विद्यालयको लागि मेच, टेबुललगायत निर्माणका लागि ५ लाखको सहयोग गरिएको छ । साथै २४ जना विपन्न विद्यार्थीलाई वार्षिक १२ हजार, १ जनालाई २५ हजार छात्रावृत्ति र शिक्षकलाई वार्षिक ९६ हजार रुपैयाँ नियमीत प्रदान गरिदैं आएको छ ।

विद्यालय भवन निर्माणको लागि स्थानीय तेज बहादुर बाईवाले २५ रोपनी जग्गा दान गर्नु भएको थियो । अधिकांश तामाङ समुदायको बसोबास रहेको यो ठाउँमा शैक्षीक क्षेत्रमा आएको सुधारले स्थानीयमा खुसी छाएको छ ।

विद्यालयका प्रधानाध्यापक हरि बहादुर तामाङ विद्यालयको भौतीक पूर्वाधार निर्माणसँगै शैक्षीक वातावरण राम्रो भइरहेको बनेको बताउनुभयो । विद्यालय कक्षा ८ सम्म सञ्चालन हुँदै आएको छ । प्रधानाध्यापक तामाङले दुर्गम ठाउँ भए पनि विद्यालयको अवस्था राम्रो रहेको र त्यसमा रामप्रताप थापाको भूमीका महत्वपूर्ण रहेको बताउनुभयो ।

अहिले २५ जनालाई मासिक १ हजारको दरले छात्राबृत्ति प्रदान गरिएको उहाँले बताउनुभयो । १० जना कर्मचारी रहेको विद्यालयले माध्यमिक तहसम्म कक्षा सञ्चालनको तयारी गरिरहेको छ । समयसँगै आर्थिक पाटो पनि बलियो गर्न सकिए शैक्षीक उपलब्धी थप वृद्धि गर्न सकिने र कक्षा थप गर्न सहज हुने प्रधानाध्यापक तामाङको भनाई छ ।

विद्यालय ब्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राजेश तामाङले विद्यालयको भवन अत्यन्तै नाजुक रहेको र दाता खोज्दै जाँदा थापा जस्तो समाजसेवी भेटिएकाले नयाँ भवन निर्माण गर्न सफल भएको बताउनुभयो ।

उहाँले भवन करिब १ करोड लागतमा निर्माण भएको र थापाको पहलमा ई लाईब्रेरि, किन्डर गार्डेन, मेच टेबुललगायत शैक्षीक सामाग्रीको लागि सहयोग भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि थप सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

स्थानीय मेयरमान तामाङ थापाको पहलमा पिछडिएको ठाउँमा धेरै सहयोग पुगेको बताउँदै आफूहरु निकै खुसी रहेको बताउनुभयो । भवन नहुँदा खुल्ला आकासमा पढ्नुपर्ने बाध्यता रहेकोमा भवन बनेसँगै विद्यालयको शैक्षीक गुणस्तरमा समेत सुधार आएको उहाँको भनाई छ ।


प्रकाशित | १८ चैत्र २०७९, शनिबार २२:१३