गैर आवासीय नेपाली संघले उठाएका मुद्दालाई सम्बोधन गर्न पहल गर्छु : परराष्ट्रमन्त्री पौडेल

काठमाडौं :  परराष्ट्रमन्त्री विमला राई पौडेलले गैरआवासीय नेपाली संघले उठाएका मुद्दालाई सम्बोधन गर्न पहल गर्ने बताउनु भएको छ । एनआरएनए प्रतिनिधिमण्डलसँगको भेटघाटको क्रममा मन्त्री पौडेलले गैरआवासीय नेपाली संघले उठाएका मुद्दालाई सम्बोधन गर्न पहल गर्ने बताउनु भएको हो ।

मन्त्री पौडेलले कानूनी र नीतिगत विषयमा परराष्ट्र मन्त्रालयले मात्रै नभई अन्तर मन्त्रालयगत सहकार्य, समन्वय र क्याबिनेटको भूमिका समेत महत्वपूर्ण हुने भएकोले आवश्यक अध्ययन, परामर्श र समन्वय गरेर गैरआवासीय नेपाली संघले उठाएका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नागरिकताको विषय समेत यही संसदबाटै टुंगिने विश्वास व्यक्त गर्दै उहाँले गैरआवासीय नेपाली नागरिकतामा कुनै समस्या नभएको जिकिर गर्नुभयो ।

दूताबास र नियोग नभएका स्थानमा नयाँ दूतावास वा नियोग राख्ने वा हाल सञ्चालनमा रहेका दूतावासलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने भन्नेमा सरकारले छलफल गरेर मात्रै निर्णय गर्ने मन्त्री पौडेलको भनाई थियो ।

मानार्थ प्रतिनिधि नियुक्त गर्दा गैरआवासीय नेपाली संघको सुझाव लिने विषय अत्यन्त सकारात्मक भएकोले त्यस सम्बन्धमा आफूले पनि पहल गर्ने उहाँको भनाई थियो ।

सरकार गैरआवासीय नेपालीका मागप्रति सकारात्मक रहेको भन्दै मन्त्री पौडेलले संवैधानिक प्रावधान अनुसार सबै समस्या समाधान हुनेमा विश्वस्त हुन आग्रह समेत गर्नुभयो ।

This image has an empty alt attribute; its file name is 1-2.jpg

भेटमा संघको संशोधित विधान तथा संघका तर्फबाट हालसम्म भएका कामहरु, सरकारका तर्फबाट भएका नीतिगत सम्बोधन, र आगामी दिनमा गर्नेपर्ने कानूनी र नीतिगत सुधार लगायतका विषय समेटिएको सुझावपत्र र समेत बुझाइएको छ ।

यस्तै आगामी अक्टोबरमा हुने संघको विश्व महाधिवेशनका लागि समेत सहकार्यका लागि संघले मन्त्री पौडेललाई आग्रह गरेको छ ।

भेटमा संघकी कार्यकारी अध्यक्ष रबिना थापाले मन्त्री पौडेलसमक्ष संघका तर्फबाट भइरहेका सामाजिक, परोपकारी कार्यसहित आर्थिक सामाजिक र सांस्कृतिक क्षेत्रमा संघले गरेको योगदानबारे मन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो ।

यस्तै, संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता विधेयकलाई मूर्तरुप दिन मन्त्री पौडेलसमक्ष आग्रह गर्नुभयो ।

अध्यक्ष आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसँग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधन गर्न समेत मन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष आचार्यले विदेशमा रहेका नेपालीहरु स्वदेशमा लगानीका लागि उत्साहित भएपनि विभिन्न नीतिगत अप्ठ्याराले समस्यामा परेको जानकारी गराउँदै अन्तरमन्त्रालयगत समन्वय गरेर परराष्ट्र मन्त्रालयले समस्या समाधानका लागि पहल गरिदिनुपर्नेमा जोड दिनुभयो । गैरआवासीय नेपालीहरु नेपालको समृद्धी र विकासको साझेदार बन्न सदैव उत्साहित रहेको अध्यक्ष आचार्यको भनाई थियो ।

यस्तै, संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संघले नेपाल कानून आयोगसँग विभिन्न चरणमा छलफल गरी दिएका सुझावहरुलाई सम्बोधन गरी कानून ल्याउनको लागि पहल गर्न अनुरोध गर्नुभयो ।

अध्यक्ष केसीले गैरआवासीय नेपाली ऐनमा १८३ दिन भन्दा बढी सार्क मुलुक बाहेक अन्य देशमा बसोबास गरी आएका नेपालीलाई गैरआवासीय नेपालीको परिचय दिलाउन तथा विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई पनि सोही परिभाषाभित्र समेट्नुपर्ने आग्रह समेत गर्नुभयो ।

सो क्रममा, अध्यक्ष केसीले नेपाल सरकारद्वारा जारी गरिएको नेपाली परिचयपत्र लिएका गैरआवासीय नेपालीहरुलाई स्वदेश भित्र हवाई यात्रा गर्दा विदेशी नागरिक सरह व्यवहार गर्ने गरेको भन्दै नेपाली नागरिक सरहको समान हवाई यात्रा, हवाई भाडा लगायतको व्यवस्था गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

This image has an empty alt attribute; its file name is 3-1024x768.jpg

भेटका अवसरमा संघका अन्तर्राष्ट्रिय संयोजक भीम उदास, पूर्व उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, संघका महिला सचिव राधिका गुरुङ, प्रवक्ता सोम सापकोटा, युवा संयोजक अब्दुल वसिद, क्षेत्रीय उपसंयोजक, (मध्यपूर्व) अमित चाम्लिङ राई,  एनसीसी टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ, लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित | ६ माघ २०७९, शुक्रबार ०८:५८