नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

काठमाडौं –नेपालले एसिसी प्रिमियर कपको सोमबार वर्षाले प्रभावित खेल आज खेल्दैछ ।

खेल आज बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । खेल युएईले २७.३ ओभरमा १०६–९ को अवस्थाबाट सुरु गर्नेछ ।

मंगलबार पनि वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ ।

तर, वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।

आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।

एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।


प्रकाशित | १९ बैशाख २०८०, मंगलवार ०७:११