‘प्रदेश नं २ स्वास्थ्य र शिक्षाको अवस्था कहालिलाग्दो’

जनकपुर : उपप्रधान एवम् जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ स्वास्थ्य र शिक्षा क्षेत्रको अवस्था कहालिलाग्दो भएको बताउनुभएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको बहिरङ्ग भवनको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले काठमाडाँै उपत्यकाका अस्पतालहरूमा पनि प्रदेश नं २ कै बिरामीको चाप अधिक देखिएको चर्चा गर्नुभयो ।

उहाँले प्रदेश नं २ मा हृदय, मिर्गौला, मधुमेहलगायतका नसर्ने बिरामी अन्य प्रदेशको दाँजोमा धेरै देखिएकाले खानपान र आचरण सुधारका लागि जनचेतना अभिवृद्धिको अभियान सञ्चालनको आवश्यकतामा जोड दिनुभयो । उपप्रधानमन्त्री यादवले प्रदेश नं २ का मुटुरोगीहरूको सङ्ख्यालाई दृष्टिगत गर्दै शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको पहिलो शाखा जनकपुरधाममा स्थापना गरिएको उल्लेख गर्नुभयो ।

‘‘हृदय केन्द्रलाई विस्तार गर्न जनकपुर अस्पतालले जग्गा उपलब्ध र प्रदेशले भवन निर्माणका बजेट विनियोजन गरिसकेकाले आगामी दिनमा यसबाट अत्याधुनिक उपचार सेवा उपलब्ध हुनेछ,’’, उपप्रधानमन्त्री यादवले भन्नुभयो ।

प्रदेश नं २ मा क्यान्सर रोगको उपचारका लागि अस्पताल निर्माण गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरिसकेको र अस्पतालका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै उहाँले प्रारम्भमा भरतपुर क्यान्सरको सहयोगमा यस प्रदेशमा क्यान्सर अस्पताल सञ्चालन हुने जानकारी दिनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अस्पताललाई प्रदेशको नमूना अस्पताल बनाउनु पर्ने खाँचो आँैल्याउनुभयो । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको जनकपुरधाममा शाखा स्थापनाले प्रदेशवासीले उपचारमा सहजता पाएको चर्चा गर्दै उहाँले शाखाबाट अन्तरङ्ग सेवा पनि सञ्चालन हुनु आवश्यक छ भन्नुभयो ।

जनकपुर अस्पतालका प्रमुख डा नागेन्द्रप्रसाद यादवले अस्पतालमा पूर्वाधार पर्याप्त भएकाले यसको सेवा विस्तारका लागि सरकारसँग रु १० करोडको व्यवस्थाका लागि माग गर्नुभयो । प्रदेश नं २ का स्वास्थ्य निर्देशक डा प्रमोद यादवले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको शाखाबाट प्रदेशका ६० लाख जनसङ्ख्याले सहज रूपमा उपचार सेवा पाउने बताउनुभयो । रासस


प्रकाशित | ९ श्रावण २०७६, बिहीबार १५:३८