पोखरा विमान दुर्घटना: २६ जनाको पहिचान खुल्यो

पोखरा : यति एअरलाइन्स विमान दुर्घटनामा शव फेला परेका ६८ मध्ये २६ जनाको पहिचान खुलेको छ । ६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

पोखराको सीताराम पुल नजिकै सेती खोँचमा दुर्घटना भएको विमानमा ७२ जना रहेका थिए । पाँच जनाको शव देखिए पनि सेती खोँचबाट निकाल्न सकिएको छैन ।

पहिचान खुलेकाहरुको शव आज आफन्तलाई जिम्मा लगाइँदैछ । पहिचान खुल्ल नसकेका शवलाई काठमाण्डौ लगेर डीएनए परीक्षण गरिनेछ ।

पहिचान भएकाहरुमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भइ अहिले बालाजु बस्ने सङ्गीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती डा. सोना दिवाकर, पर्वतको कुष्मा १ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उहाँकी ११ वर्षकी छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ छन् ।

यस्तै, रुपन्देही शङ्करनगर ८ का डा। गणेश थापा, काठमाण्डौकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको छ ।


प्रकाशित | २ माघ २०७९, सोमबार ०९:०१