नीति तथा कार्यक्रममाथि संसदमा छलफल सकियो

काठमाडौं :चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा छलफल सकिएको छ । लगातार तेस्रो दिनसम्म सांसदहरुले नीति तथा कार्यक्रममाथि धारणा राखेपछि छलफल सकिएको हो ।छलफलका क्रममा सत्तारुढ दलका सांसदहरुले नीति तथा कार्यक्रम राम्रो आएको र यसले समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको नारालाई सार्थक बनाउने बताए । उनीहरुले यो नीति तथा कार्यक्रमले मुलुकको तीब्र आर्थिक विकासको बाटो देखाउने पनि धारणा राखे ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत विपक्षी दलले भने नीति तथा कार्यक्रम कर्मकाण्डी, नयाँ कार्यक्रम नभएको, समृद्धिको दिशा निर्देश गर्ने खालको नभएको आरोप लगाएका थिए ।नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उच्चारण गरेको मेरो सरकार भन्ने शब्दको विषयलाई लिएर पनि विपक्षी दलहरुले आलोचना गरेका थिए ।उनीहरुले राष्ट्रपतिबाट विगतको राजतन्त्रको जस्तो व्यवहार भएको आरोप लगाए । तर सत्तारुढ दलका सांसदहरुले भने राष्ट्रपतिले मेरो सरकार भन्नु उचित भएको भन्द बचाउ गरे ।

नीति तथा कार्यक्रममाथि सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि मंगलबार दिउँसो प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । मंगलबार नै बस्ने अर्को बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ ।


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार १३:३६