अहिलेसम्म ३८९ पालिकाको मतपरिणाम सार्वजनिकः कांग्रेस १८१, एमाले ११० र माओवादी ७७ पालिकामा विजयी

काठमाण्डौ : देशभर अहिलेसम्म तीन सय ८९ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार ८७ वटा नगरपालिका र तीन सय २ वटा गाउँपालिका गरी तीन सय ८९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

सार्वजनिक मत परिणाम अनुसार पहिलो स्थानमा नेपाली कांग्रेस छ । कांग्रेसले अहिलेसम्म ४८ वटा नगरपालिका र एक सय ३३ वटा गाउँपालिका गरी एक सय ८१ वटा पालिकाको प्रमुख पदमा विजयी हासिल गरेको छ ।

यस्तै कांग्रेसले ४१ वटा नगरपालिकाको उपमेयर, एक सय ३२ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ७३ ठाउँमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले एक हजार ८ सय ४९ वटा वडाध्यक्ष पद जितेको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमाले छ । एमालेले २५ वटा नगरपालिका र ८५ वटा गाउँपालिका गरी ११० वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै एमालेले २८ वटा नगरपालिकाको उपमेयर र ८२ वटा पालिकाको उपाध्यक्ष गरी ११० ठाउँमा नै पालिका उपप्रमुखरउपाध्यक्ष जितेको छ । एमालेले एक हजार ४ सय ४७ वटा वडाध्यक्ष पदमा जित हासिल गरको छ ।

त्यस्तैगरि, माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म ९ वटा नगरपालिका र ६८ वटा गाउँपालिका गरी ७७ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै माओवादीले १३ वटा नगरपालिकाको उपमेयर, ७१ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ८४ ठाउँमा जितेको छ । माओवादीले सात सय ८३ वटा वडाध्यक्ष पदमा जितेको हो ।

नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिका मेयर, चार वटा गाउँपालिकामा अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर र ९ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । जनता समाजवादी पार्टीले पनि ५ वटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ । नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा एक वटा नगरपालिकामा मेयर जितेको छ ।


प्रकाशित | ४ जेष्ठ २०७९, बुधबार ०७:१२