राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी थालेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी थालीएको बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल फागुनमा सकिदैंछ ।  फागुनमै दुबै पदको निर्वाचन गर्ने गरि तयारी भइरहेको उहाँको भनाई छ ।

‘हामीसँग राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न पर्याप्त समय छ । फागुनमै निर्वाचन पुरा गर्न सक्छौं । त्यसका लागि कुनै समस्या छैन’ थपलियाले भन्नुभयो, ‘राजनीतिक दलहरुबीच सहमति भएमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमै गर्न सक्छौं ।’

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएकाले पुनः राष्ट्रियसभाका एकजना सदस्यको तत्काल निर्वाचन गर्ने तयारी पनि भइरहेको आयोगले जनाएको छ ।

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबिच छलफल गर्छौँ र हामी एउटा निष्कर्षमा पुगौंला ।’

सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदैश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत उपस्थित हुनुहुन्थ्यो । बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुले निर्वाचन आयोगको कामकार्वाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।


प्रकाशित | १८ पुष २०७९, सोमबार १५:३३