गृह मन्त्रालयमा कानुन बमोजिम काम गर्न मन्त्री भेट्नुपर्दैन: गृहमन्त्री लामिछाने

काठमाडौं: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा कानुनबमोजिम काम गर्न मन्त्रीलाई भेट्नु नपर्ने बताउनु भएको छ । गृहमन्त्री लामिछानेले शुक्रबार साँझ फेसबुकमार्फत एक सन्देश सार्वजनिक गर्दै सो कुरा बताउनु भएको हो ।

गृह मन्त्रालयका कर्मचारीहरू नागरिकको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेको बताउँदै भन्नुभयो, ‘हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन, हाम्रा कर्मचारी साथीहरू तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध छन् ।’

मन्त्री बनेपछि बधाई तथा शुभकामना दिनेहरूलाई धन्यवाद ज्ञापन गर्दै उहाँले भेटघाट, फूलमाला, खादा गम्छाको शिलशिला रोकेर काममा लाग्नुपर्ने समय आएको बताउनुभयो । गृह मन्त्रालय हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा लागेको उहाँले बताउनुभयो ।

मन्त्री लामिछानेले कामको तारिफ गर्न कन्जुस्याईं गरे पनि खबरदारी भने दिल खोलेर गर्न आग्रह गर्नु पनि गर्नुभयो ।


प्रकाशित | १५ पुष २०७९, शुक्रबार २१:०४