नेपालमा भयावह बन्दै क्यान्सर, ७५ हजार नेपाली प्रभावित

काठमाडौ: नेपालमा क्यान्सर भयावह रूपमा देखिदैं गएको छ । मानिसको असन्तुलित खानपान र बदलिँदो जीवनशैलीका कारण क्यान्सरका बिरामीहरूको संख्या दिनप्रति दिन बढ्न थालेको हो । धुम्रपान र मद्यपान गर्नेहरूमा बढी मात्रामा क्यान्सर देखापर्ने गरेको चिकित्सकको अनुभव छ । यदि धुम्रपान र मद्यपान नगर्ने हो भने मात्रै क्यान्सरका बिरामीको संख्या झन्डै ५० प्रतिशतले घट्ने चिकित्सकहरूको भनाइ छ ।

नेपालमा हरेक वर्ष ३० देखि ३५ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेको विभिन्न अध्ययनले देखाएको छ । क्यान्सर सुरुमा नै पत्ता लगाउन सकिए निको हुने भएकाले विशेष सर्तकता अपनाउन चिकित्सको सुझाव छ तर नेपालमा भने अधिकांश व्यक्ति क्यान्सरको अन्तिम चरणमा पुगेपछि मात्रै अस्पताल जाने गर्दा मृत्यु हुने क्रम बढेको राजधानी दैनिकमा खबर छ । बिरामीले सुरुकै अवस्थामा सर्तकता अपनाउन नसक्नाले क्यान्सर रोगले भयावह रूप लिदै गएको चिकित्सकको भनाइ छ ।

क्यान्सर काउन्सिल नेपालका अनुसार नेपालमा ७५ हजार नागरिक क्यान्सरबाट प्रभावित भएको अनुमान छ । क्यान्सरबाट प्रभावित हुनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । महिलाको पाठेघरको मुखको क्यान्सर बढी मात्रामा हुने गरेको देखिएको छ ।


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार ०७:४४