टाइब्रेकरमा भाग्यमानी टिम क्रोएसिया

एजेन्सी – ब्राजिलले सन् २००२ को फाइनलमा जर्मनीलाई २–० ले पराजित गर्दै कीर्तिमान पाचौंपल्ट विश्वकपको उपाधि जितेपछि नकआउट चरणमा युरोपेली टिमलाई हराउन सकेको छैन । यसले कतारमा पनि निरन्तरता पायो । यसपालि ब्राजिललाई क्वाटरफाइनलमा सिकार बनाउने टिम रह्यो क्रोएसिया ।

क्रोएसियाको जितमा घरेलु क्लब डिनामो जाग्रेबका २७ वर्षीय गोलकिपर डोमिनिक लिभाकोभिचले फेरि एकपल्ट उत्कृष्ट प्रदर्शन गरे । अन्तिम १६ मा जापानविरुद्ध टाइब्रेकरमा हात पारेको जितमा दुई पेनाल्टी रोकेका उनले दोस्रो हाफ र अतिरिक्त समयमा नेयमर, रिचार्लिसन, कासेमिरोका शृंखलाबद्ध आक्रामण पालैपालो निस्तेज पारेका थिए । उनले पेनाल्टी सुटआउटमा ब्राजिलको पहिलो प्रहारमै आएका रियल म्याड्रिडका २१ वर्षीय फरवार्ड रोड्रिगोले प्रहार गरेको बल बायातर्फ डाइभ गर्दै रोकेर क्रोएसियाको जितको आधार तय गरिदिए ।


यसअघिका दुई खेल ब्राजिलले जितेको थियो । आठ वर्षअघि समूह चरणमा ब्राजिलले क्रोएसियालाई ३–१ ले पराजित गर्दा नेयमरले दुई गोल गरेका थिए । कतारमा पनि नेयमरकै उत्कृष्ट गोलमा ब्राजिल सेमिफाइनल नजिक पुगेको थियो । उनले लुकास पाक्वेएटाले दिएको बलमा राम्रो मुभ बनाउँदै गोलकिपर लिभाकोभिचलाई छक्याएर आकर्षक गोल गरी अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा ब्राजिललाई १–को अग्रता दिलाएका थिए । यससँगै नेमयरले ब्राजिलका लागि सबैभन्दा बढी गोल गरेका पेलेको ७७ गोलको कीर्तिमान पनि बराबरी गरे ।

 

खेल सकिन १५ मिनेट बाँकी थियो, जसमा क्रोएसियालाई रोक्न सके ब्राजिल सेमिफाइनल पुग्न सक्थ्यो । तर, नेयमरले दिलाएको अग्रता धेरैबेर टिकेन । ओर्सिचको पासमा ब्रुनो पेट्कोभिचले पेनाल्टी क्षेत्रको ठीकभित्रबाट प्रहार गरेको बल ब्राजिली डिफेन्डरमा डिफ्लेक्ट हुँदै जाली चुम्न पुगेपछि क्रोएसियाले ११७ औं मिनेटमा १–१ को बराबरी गर्‍यो । त्यसमा गोलकिपर एलिसन बेकरको केही सीप चलेन । अतिरिक्त समयको अन्तिम क्षणमा कासेमिरोले प्रहार गरेको बल लिभाकोभिचले नरोकेको भए खेलको कथा फरक हुनसक्थ्यो । पेनाल्टी शुटआउटमा कासेमिरो र पेड्रोले मात्रै गोल गर्न सके ।

क्रोएसिया केही हदसम्म टाइब्रेकरमा भाग्यमानी टिम हो । उसले २०१८ मा पनि अन्तिम १६ मा डेनमार्क, क्वाटरफाइनलमा आयोजक रुसलाई टाइब्रेकरमा पराजित गरेको थियो भने सेमिफाइनलमा इंग्ल्यान्डलाई अतिरिक्त समयमा २–१ ले हराएर पहिलोपल्ट फाइनलमा स्थान बनाएको थियो ।

क्रोएसियाले मुख्य प्रतियोगितामा पछिल्ला नौमध्ये आठ खेल अतिरिक्त समयसम्म खेलेको हो । उसले कतार संस्करणमा फाइनल प्रवेशका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित | २४ मंसिर २०७९, शनिबार १४:३९