दोलखाका वैत्यश्वर र तामाकोशीका चार मतदान केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन गर्ने निर्णय

चरिकोट:  दोलखाका चार मतदान केन्द्रका १० बुथमा मंसिर १५ गते पुनः निर्वाचन गर्ने निर्णय भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितीको आज बसेको बैठकले मंसिर १५ गते मतदान गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय भएको जानकारी गराउनुभयो । उहाँले आजैबाट निर्वाचनको तयारी थालिएको पनि बताउनुभयो ।

आइतबार मात्र निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले बुथ कब्जा भएको उजुरी दिनु भएपछि जाँचबुझ आयोगको टोलीले धाँधली भएको पुष्टि गर्दै पुन:निर्वाचन गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा आयोगले पुन: निर्वाचन गर्ने निर्णय गरेको हो ।

This image has an empty alt attribute; its file name is 315744196_131467673076054_7183225647059701363_n-766x1024.jpg

 

आयोगको निर्णय अनुसार दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख, ग, तामाकोसी गाउँपालिका -३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख मा पुन: मतदान हुन लागेको हो । 

वैतेश्वर गाउँपालिका– ६ स्थित वैतेश्वर माविका तीन केन्द्रमा दुई हजार ४७२ मतदाता छन् । एक हजार ५८९ मत खसेको प्रारम्भिक विवरण छ । वडा नम्बर २ स्थित जनज्योति मावि पुतलीकाठका दुई केन्द्रमा एक हजार ९३४ मतदाता रहेकोमा ४८१ मत खसेको थियो । वडा नम्बर ३ कालीढुंगा माविका तीन केन्द्रमा दुई हजार ६६५ मतदाता रहेकोमा दुई हजार १०२ मत खसेको तथ्यांक छ । यहाँको (क) मा ९४.४७ र (ग) मा ९२.९० प्रतिशत मत खसेको थियो ।

तामाकोसी-३ हेल्थपोस्ट भवन जफेको दुई मतदान केन्द्रमा एक हजार ४४३ मतदाता छन् भने एक हजार ४०६ मत खसेको थियो । यहाँको (क) केन्द्रमा ९७.१४ र (ख) मा ९७.७१ प्रतिशत मत खसेको तथ्यांक छ । पुनः मतदानको निर्णय भएका १० केन्द्रमा कुल आठ हजार ५१४ मतदाता छन् भने पाँच हजार ५७८ मत खसेको थियो ।

यी हुन पुन: मतदान हुने मतदान केन्द्रहरु

१) बैत्यश्वरको वडा नं. ६ (क,ख,ग)

२) वैत्यश्वरको ३ कालिढुङ्गा (क,ख,ग)

३) बैत्यश्वर २ को जनज्योति( क,ख)

४) तामाकोसीको हेल्थपोस्ट (क,ख)


प्रकाशित | १२ मंसिर २०७९, सोमबार १०:२३