दोलखामा एमालेको पक्षमा राम्रो माहोल बनेको छ: डबल पाण्डे

दोलखा सह–इन्चार्ज तथा प्रदेश सभा–२ निर्वाचन कमाण्डर

निर्वाचन नजिकिंदै जाँदा दोलखामा एमालेको पक्षमा अत्यन्तै राम्रो माहोल बनेको छ । चुनाव प्रचारको क्रममा पुग्दा हामीप्रति आम जनता सकारात्मक देखिनुभएको छ । निर्वाचन प्रचारका क्रममा हामीले जति जनतासँग अन्तरक्रिया र भेटघाट गर्यौ ,उहाँहरु नेकपा एमालेका उम्मेदवारलाई जिताउन आतुर रहेको अनुभूति गरेका छौँ ।

हामीसँगको भेट र अन्तरक्रियामा गठबन्धनतिर लागेका थुप्रै नेता–कार्यकर्ता साथीहरुले पार्टीको उम्मदेवार नरहेको कारण एमाले उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाउनुभएको छ । धेरै साथीहरु त अपवित्र गठबन्धनप्रति असहमति राखेर नेकपा एमालेमै प्रवेश गर्नुभएको छ । यसले जनताको भरोसाको पार्टी एमाले नै हो भन्ने स्थापित गरेको छ ।

हामीले प्रदेश सभा–२ का चार पालिका र ३४ सबै वडामा चुनावी प्रचारका कार्यक्रम सम्पन्न गरेका छौं । सबै ठाउँमा जनताले उत्साहित हुँदै स्वागत गर्नुभएको छ । तर, गठबन्धनका नेता कार्यकर्ताहरु आफ्ना खास उम्मदेवार नभएकाले अलमलमा देखिनुहुन्छ । उहाँहरुमा कुनै उत्साह देखिएको छैन । कांग्रेसका धेरै कार्यकर्ताहरु माओवादीलाई कुनै हालतमा मत नदिने मनस्थितिमा रहेको हामीले पाएका छौं । त्यसैले लोकतन्त्र र सामाजिक न्यायप्रति प्रतिवद्ध न्यायप्रेमी कांग्रेसको समेत साझा उम्मेदवारका रुपमा हाम्रा प्रतिनिधि सभाका उम्मदेवार बालकृष्ण शिवाकोटी बन्ने अवस्था बनेको छ ।

निर्वाचनको संघारमा हामीले आन्तरिक ब्यवस्थापन चुस्त बनाएका छौँ । दोलखामा लामो समयदेखि एमालेले नेतृत्व गर्दै आएको र अबको नेतृत्व पनि एमालेले नै गर्नुपर्छ भन्ने पक्षमा रहेको पायौं । ०७४ सालको स्थानीय तहको निर्वाचनपछि एमालेबाट जितेका जनप्रतिनिधिहरुले धेरै विकासका काम गर्नुभएको छ । समग्रमा जिल्लाबासीको मनोविज्ञान संघ र प्रदेशमा नेकपा एमालेले जिते मात्र अधुरा र अपुरा योजना पूरा गर्न सकिन्छ भन्ने रहेको छ ।


प्रकाशित | ३० कार्तिक २०७९, बुधबार १९:१४