एनआरएनएद्धारा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को आयोजना तथा कैलाली उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको छ । भूकम्पका कारण डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका थिए ।

जिल्ला विपत व्यवस्थापन समितिमार्फत् भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढीको राहत सामग्री सहयोग गरिएको गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाले जानकारी दिनुभयो ।

सो ठाउँमा भूकम्पमा परेर जनधनको क्षति भएपछि (एनआरएनए)ले उद्योग वाणिज्य सघसँगको समन्वयमा डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका प्रदेश महासचिवलाई राहत सामग्री हस्तान्तरण गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

‘‘एनआरएनएले स्थानीय प्रशासन तथा उद्योग वाणिज्य संघसंगको सहकार्यमा खाद्यान्न, लत्ताकपडालगायत राहत सामग्री हस्तान्तरण गरेको छ । यसले भूकम्पबाट पीडितलाई तत्कालै सानो भए पनि राहत मिल्ने हाम्रो अपेक्षा हो,’’ थापाले भन्नुभयो ।

एनआरएनएले २०७२ सालको भूकम्पमा पनि गोर्खा लगायतका विभिन्न जिल्लामा ठूलो सहयोग गरेको थियो । एनआरएनएको सहयोगमा डोटीमा तीन लाख ५४ हजार सात सय ५० रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको र यसले भूकम्प पीडितलाई ठूलो राहत मिलेको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो ।


प्रकाशित | २९ कार्तिक २०७९, मंगलवार १९:०२