दोलखा : नेकपा एमाले दोलखाबाट प्रतिनिधि सभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले स्व रामबहादुर घिसिङले देखाएको राजनीतिक बाटो र उहाँका सपनालाई पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
स्व घिसिङको २० औँ स्मृति दिवसमा मंगलबार शैलुङ गाउँपालिका वडा नं ३ मा रहेको शालिकलाई माल्यार्पण गर्दै उहाँ निडर राजनीतिज्ञ भएको बताउनुभयो । शिवाकोटीले उहाँले पछ्याइरहेका राजनीतिक बाटो र सपनालाई कहिल्यै नभुल्ने पनि बताउनुभयो ।\
स्व घिसिङलाई २०५९ कार्तिक २९ माओवादीले हत्या गरेको थियो । तत्कालीन काटाकुटी गाविसका उपाध्यक्ष रहनु भएको थियो । १० वर्षे जनयुद्धमा शैलुङ गाउँपालिका चक्रबहादुर बुढाथोकी लगायत धेरैको माओवादीले हत्या गरेका थिए ।
यस्तै मुडे मेलुङ सडक कालोपत्रे गराउन पहलकदमी गरिने पनि बताउनुभयो । शैलुङ गाउँपालिकामा घरदैलो गर्दै उहाँले यो मुख्य सडक हिलाम्मे र धुलाम्मेले सास्ती बेहोरिरहेको अवस्थालाई मध्यनजर गरी यसलाई चाँडोभन्दा चाँडो कालोपत्रे गर्न पहल रहने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो सडक अहिले ठेकेदारमार्फत काम भइरहेतापनि बिचबिचमा रोकिने समस्या देखेको छु‚ त्यसलाई छिटो कालोपत्रे गर्नका लागि प्राथमिकतामा राखेर काम गराउन पहल गरिनेछ ।’
प्रकाशित | २९ कार्तिक २०७९, मंगलवार १८:२३