तामाकोसी तेस्रो जलविद्युत आयोजना छिटोभन्दा छिटो बनाउन पहल गर्ने बालकृष्ण शिवाकोटीको प्रतिबद्धता

दोलखा : नेकपा एमालेबाट दोलखा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले तामाकोसी तेस्रो जलविद्युत आयोजना छिटोभन्दा छिटो शूरु गरेर निर्माणको चरणमा पुर्याउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । उम्मेदवार शिवाकोटीले ७५० मेगावाटको तामाकोशी तेस्रो जलविद्युत आयोजनाको निर्माणका लागि लगानीको सुनिश्चिततासहित राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजनाको रूपमा अघि बढाइने प्रतिबद्धता ब्यक्त गर्नु भएको हो ।

उम्मेदवार शिवाकोटीले तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुँदा तामाकोसी तेस्रो आयोजनाको क्षमता ७५० बाट २ सय मेगाबाटमा घटाइएको र आर्थिक लेनदेनमा ब्यवसायीलाई लाइसेन्स सुम्पिभएको बताउनु भयो ।

मेरो अबको पहिलो प्राथमिकता ७५० मेगावाट क्षमतामै आयोजना सम्पन्न गराउनेमा हुनेछ, उम्मेदवार शिवाकोटीले भन्नुभयो, एमालेको सरकारले आयोजनालाई पूर्ण क्षमतामा निर्माण गर्न लागेको थियो तर सरकार परिवर्तन भएपछि योजना अलपत्र बनाउने काम भएको छ ।

‘एमाले सरकारको पालामा म लगानी बोर्डमा हुँदा बोर्डमार्फत बनाउन पहल भइरहकोमा प्रचण्ड नेतृत्वको सरकार बनेपछि आर्थिक लेनदेन गरेर कुनै व्यापारीलाई लाइसेन्स सुम्पिएको छ,’ उम्मेदवार शिबाकोटीले भन्नुभयो, ‘क्षमतासमेत ७५० बाट २०० मा झारिएको छ । यसका कारण दोलखा विकासमा पछि परेको छ । यदी मलाई विजयी गराउनु भयो भने यो आयोजना छिटो भन्दा छिटो शूरु गरेर निर्माणको चरणमा पुर्याउने प्रतिबद्धता ब्यक्त गर्दछ ।’

त्यस्तै, शिवाकोटीले जिल्लाका निर्माणाधीन र अध्ययन पूरा भई निर्माण सुरु हुने चरणमा रहेका मध्यमस्तरका जलविद्युत् आयोजनाहरूमा ‘दोलखाको पानी, दोलखालीकै लगानी’ को अवधारणा अनुरूप जिल्लाबासीलाई शेयरको अग्राधिकार सुनिश्चितता गराइने र प्रसारण लाइनबाट प्रभावित जिल्लाबासीहरूको लागि उचित क्षतिपूर्ति तथा सहुलियत उपलब्ध गराइने पनि प्रतिबद्धता जनाउनु भएको छ ।

त्यस्तैगरि, आगामी ५ वर्षभित्र जिल्लाका सबै घरधुरीमा विद्युतीय चुलोको पहुँच पु¥याइने प्रतिबद्धता पनि शिवाकोटीको रहेको छ ।


प्रकाशित | २८ कार्तिक २०७९, सोमबार १९:२३