एमसीसीबारे चर्को विवाद भएपछि समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलायो

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा एमसीसीबारे चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाएको सो पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो ।

तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाउनुभएको थियो ।

शनिबारको स्थायी कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दुई पटक विज्ञप्ति निकाल्नुपरेको थियो । खतिवडाले दुई पटक विज्ञप्ति निकाल्दा पनि स्पस्ट नभएको भन्दै पुन महासचिव डा.बेदुराम भुसालले अर्को विज्ञप्ति निकाल्नुभएको थियो ।

खतिवडाले पहिला निकालेको विज्ञप्तिमा एमसीसी संशोधनबिना अगाडि बढाउन नसकिने पूर्ववत् अडान कायमै रहेको र थप निर्णय गर्नुपर्ने अधिकार सचिवालयलाई दिइएको उल्लेख गर्नुभएको थियो।

लगत्तै अर्को वक्तव्यमा संसद अवरोध हटेर दलहरुबीच राजनीतिक सहमति जुटेमा एमसीसी पेश गर्न तयार भएको उल्लेख थियो ।


प्रकाशित | ९ फाल्गुन २०७८, सोमबार १२:१९