कसैले चाहना राख्दैमा गठबन्धन टुट्दैन: माधव कुमार नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कसैले चाहना राख्दैमा गठबन्धन सरकार नटुट्ने बताउनु भएको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैले चाहना राख्दैमा सत्तारुढ गठबन्धन नटुट्ने दाबी गर्नुभएको हो ।

उहाँले गठबन्धन टुटाउने प्रयास भइरहेको भएपनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकार मिलेर प्रतिष्पर्धा गर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने भएकोले त्यसपछिका दिनमा पनि गठबन्धनका विभिन्न स्वरुपहरु देख्न पाइने बताउनुभयो । उहाँले राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन विजयी भएको र विजयको यात्रा आगामी वर्षको मंसिर महिनामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म कायमै रहने बताउनुभयो ।


प्रकाशित | १९ माघ २०७८, बुधबार १७:३६