निमन्त्रणापत्र लिएर मत माग्दै काठमाडौं २ का स्वतन्त्र उम्मेदवार(लौरो) कोषराज सुवेदी

काठमाडौं -काठमाडौं २ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका कोषराज सुवेदी मत माग्न निमन्त्रणापत्र लिएर घरदैलो गरिरहेका छन् ।

उनले जनतालाई आफ्नो पक्षमा मतदान गर्न निमन्त्रणापत्र बाँड्ने योजना बनाएका हुन् । म अलिकति फरक काम गर्छु, अरु नेता घोषणापत्र लिएर जान्छन् म निमन्त्रणापत्र’ उनले भने ‘निमन्त्रणापत्रमा केही खालि ठाउँ छोडिएको हुन्छ, जसमा मतदाताले आफ्नो कुरा लेख्नुहुन्छ र निर्वाचन जितेपछि म त्यसलाई घोषणापत्र बनाउँछु ।’

उनले जितेपछि मात्र घोषणापत्र बनाउने जनाएका छन् । निकै लामो समयदेखि यो क्षेत्रमा उठ्ने तयारी गरेका उनले जनताको समस्या के छ भन्ने आफूले बुझेको बताउने उनी जनताले नयाँ परीक्षा चाहेकाले आफू परीक्षण हुन चाहेको जनाएका छन् ।

म अभियान लिएर गाउँमा जाँदा नागरिकहरु उत्साहित हुनुभएको छ, मैले आफ्ना कुरा राखेपछि उहाँहरु विश्वस्त हुनुभएको छ उनले भने ‘म उम्मेदवार हुँ, अरु पार्टीका पनि उम्मेदवार हुनुहुन्छ, को को उम्मेदवार भन्नेतिर मैले ध्यान दिएको छैन, कसरी जनताको मन जितेर निर्वाचन जित्ने र जनतालाई न्याय दिने त्यहीमात्र मेरो उद्येश्य हो ।’

उनले नयाँनयाँ कार्यक्रम पनि घोषणा गरेका छन् । आफू किसानको छोरो भएकाले किसानका कुरालाई उनले प्राथमिकतामा राखेका छन् । कृषिबाट क्रान्ति गर्न सकिन्छ भन्ने उनी थप्छन् ‘हाम्रो देशमा जहाँ जेमा पनि सम्भावना छ तर अहिलेसम्म शासन गरेकाले त्यसलाई बुझ्न सकेनन् त्यसैले म र हामीजस्ताको खाँचो छ अहिले ।’ कृषिको समृद्धिबाट देश विकास सम्भव छ भन्ने उनी आर्थिक क्षेत्रमा देखिएको नीतिगत भ्रष्टाचारको विरुद्धमा बोल्दै आएका छन् ।

‘अर्थतन्त्रभित्र देखिएका धमिराहरुको अन्त्य गर्नु छ, सदनमा सधैं जनताका आवाज उठाउँछु’ उनले भने ‘मेरा धेरै योजना छन्, ती मध्ये मुख्यतः सोचसँग समृद्धि, समुन्नत लोकतन्त्र, दीगो पूर्वाधार, आर्थिक पारदर्शिता , गुरूकुल र गुगल फ्यूजन सहितको शिक्षा, निशुल्क स्वास्थ बीमा सेवा लगायतका एजेण्डा बनाएका छन् ।

एक प्रतिष्ठित वित्तीय संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतसमेत भइसकेका उनी डिजिटल नेपाल बनाउने लक्ष्य लिएर अघि बढेका छन् ।


प्रकाशित | २८ आश्विन २०७९, शुक्रबार १८:२८