छ्यादी खोलाले बगाएर बेपत्ता भएका शिक्षकको २२ घण्टापछि जीवितै उद्धार

सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिका(१ सर्कथलीमा खोलाले बगाएर बेपत्ता भएका शिक्षकको २२ घण्टापछि आइतबार जीवितै उद्धार गरिएको छ । शनिबार छ्यादी खोलामा साथीसहित नुहाउन गएका स्थानीय विद्यालयका शिक्षक केशव सिवाकोटीलाई खोलाले बगाएको थियो ।

दोलखा कालिञ्चोक-३ घर भइ स्थानीय सर्कथली आधारभूत विद्यालयमा पढाउँदै आएका शिक्षक शनिबार खोलामा एक्कासी चिप्लिएर हराएका थिए । शनिबार बेपत्ता शिक्षक नभेटिएपछि आस मारेका स्थानीय र शिक्षकका परिवारले छ्यादी भिरबाट आइतबार बिहान ५ बजे ‘बचाउ‚ बचाउ गुहार, गुहार’ भन्ने आवाज बारम्बार सुनेपछि गाउँपालिका अध्यक्षलाई गुहारेका थिए ।

तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय अगुवाजन र जनप्रतिनिधि उद्धारमा आवाज आएको छ्यादी भिरमा खटिएका थिए । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर अहिले थप उपचारको लागि कठमाडौं लगिएको छ।


प्रकाशित | २ आश्विन २०७९, आईतवार १४:०१