नेपालमा ‘जलवायु सङ्कटकाल’घोषणा गर्ने वन मन्त्रालयको तयारी

काठमाडौं -जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७)नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वलाई ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ ।

संयुक्त राष्ट्रसङ्घले नै विश्वभर जलवायु परिवर्तनका कारण मानवीय सङ्कट सुरु भएको भनेकाले नेपाल जस्तो उच्च जोखिमयुक्त मुलुक पनि यस विषयमा गम्भीर हुन जरुरी रहेको निष्कर्षमा वन तथा वातावरण मन्त्रालय पुगेको बताइएको छ ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्नका लागि योजना बनाउने जानकारी यसअघि नै दिइसकेका छन्। यसै आधारमा सो मन्त्रालयले यसको अध्ययन तथा सम्बन्धित विज्ञसँग राय सुझाव लिन सुरु गरेको छ ।

मन्त्रालयका जलवायु महाशाखा प्रमुख बुद्धिसागर पौडेलले सङ्कटकाल घोषणाको अध्ययन र प्राविधिक तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्कटकाल लगाएपछि फाइदा वा घाटा के हुन्छ, कुनै क्षेत्र विशेषमा असर पर्छ कि भन्ने विषयमा अध्ययन गर्ने भनेर तथ्य–तथ्याङ्क जुटाउने र विश्लेषण गर्ने काम सुरु गरिएको छ ।

हालसम्म विश्वका ३९ देशले जलवायु सङ्कट घोषणा गरेका छन् । जलवायु परिवर्तनको असरले नेपालमा प्राकृतिक विपद्का घटना बर्सेनि दोहोरिइरहने तथा हरेक वर्ष कहिले खडेरी हुने त कहिले भारी वर्षाका कारण बाढी, पहिरो आउने समस्याका कारण ठूलो मात्रामा धनजनको क्षति भइरहने एवं पछिल्ला केही वर्षयता हिमालमा हिउँ पग्लिने र मधेस तथा पहाडमा खानेपानी र सिँचाइकै समस्या हुने खालका समस्या बढ्ने गरेका छन् ।


प्रकाशित | २ आश्विन २०७९, आईतवार १३:०९