बालकथा लेखन प्रतियोगितामा मदरल्याण्ड स्कूल प्रथम

भक्तपुर -नेशनल प्याव्सन भक्तपुरले बालकथा लेखन प्रतियोगिता सम्पन्न गरेको छ । आधारभूत तह कक्षा ६ देखि ८ का विद्यार्थीहरुको लागि भाद्र ८ गते बालकथा लेखनको प्रशिक्षण गरी भाद्र ९ गते बालकथा लेखन प्रतियोगितामा आयोजना गरेको हो ।

बालकथा प्रतियोगितामा मदरल्याण्ड स्कूलकी सरिना लामा प्रथम स्थान, ग्लीटर फ्युचर स्कुलकी जीविका सिटिखू द्धितीय स्थान, पारागन एकेडेमी स्कुलका आयाम श्रेष्ठ तृतीय स्थान र साइनिगं स्कुलका अजित नेपाल सान्त्वना स्थान प्राप्त गर्नु भएको थियो । साथै प्रोत्साहन स्वरुप युनिटी स्कुलकी आश्लिना खड्कालाई प्रदान गरिएको थियो ।

भाद्र ८ गते बालकथा लेखनको प्रशिक्षण बाल साहित्यकार एवं बालकथा लेखक कार्तिक्य घिमीरेले गर्नु भएको थियो । विजेता लगाएत प्रतियोगितामा सहभागी ३० जना विद्यार्थीहरुले लेखेको कथा संग्रहमा छापिने समेत प्रशिक्षक घिमिरेले बताउनु भयो । बालकथा लेखन प्रतियोगिताको समापन एवं पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेशनल प्याव्सनका राष्ट्रिय सह(अध्यक्ष सुवास न्यौपानेले शिल्ड, केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछुले मेडल र केन्द्रीय सदस्य जिबि खड्काले प्रमाणपत्र वितरण गरी विजयी विद्यार्थीहरुलाई बधाई एवं शुभकामना दिनु भएको थियो ।नेशनल प्याव्सन भक्तपुरका सचीव जय प्रकाश राईले जिल्लामा रहेका सदस्य विद्यालयहरुको उत्थान र विद्यार्थीहरुको क्षमता विकासका लागि आगामी दिनमा विभिन्न कार्यक्रमहरु ल्याइने बताउनु भयो ।

विद्यार्थीहरुको लेखन क्षमतामा अभिवृद्धि ल्याउन, सिर्जनशीलतामा विद्यार्थीहरुलाई रुचि राख्न प्रेरणा दिन, नेपाली भाषा एवं संस्कृतिको जगेर्ना गर्न, साँस्कृतिक सम्पदाको प्रवर्द्धण र संरक्षण गर्न समेत बालकथा लेखनले बालबालिकाहरु मार्फत मार्ग बन्ने कुरा नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले बताउनु भयो ।


प्रकाशित | ९ भाद्र २०७९, बिहीबार २२:००