विदेशमा बस्ने नेपालीलाई प्राथमिकताको आधारमा ल्याउन आवश्यक गृहकार्य भइरहेको छ: परराष्ट्रमन्त्री

काठमाडौं:  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा रहेका नेपालीको विषयमा सरकार गम्भिर रहेको बताउनुभएको छ । श्रम तथा रोजगार पत्रकार समूहसँग कुराकानी गर्नुहुँदै मन्त्री ज्ञवालीले नेपाललाई सुरक्षित बनाएपछि विदेशबाट नेपालीलाई क्रमश: ल्याउने बताउनुभयो ।

मन्त्री ज्ञवालीले भन्नुभएको छ, ‘पहिला नेपाल सुरक्षित बनाउने हो । नेपाल सुरक्षित भएपछि क्रमशः विदेशमा रहनु भएको नेपालीलाई नेपालमा ल्याउछौं ।’ विदेशमा बस्ने नेपालीलाई प्राथमिकताको आधारमा ल्याइने र त्यसका लागि आवश्यक गृहकार्य भइरहेको समेत मन्त्री ज्ञवालीले बताउनुभयो ।

अहिलेको अवस्थामा विदेशमा बस्नेलाई स्थानीय नागरिकसरह उपचार, खाना र बसोबासको सुविधा र रोजगारीको संरक्षण गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताउँदै विभिन्न देशका प्रमुखहरुसँग यस विषयमा कुरा भइरहेको र दूतावासले पनि सम्बन्धित ठाउमा समन्वय गरिरहेको समेत जानकारी गराउनुभयो ।


प्रकाशित | २२ बैशाख २०७७, सोमबार २१:४३