प्रतिनिधिसभाबाट नागरिकता विधेयक बहुमतले पारित

काठमाडौं : नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक  शुक्रबार बहुमतले पारित भएको हो ।

नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले मतदान गरे भने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले वैवाहिक अंगीकृत नागरिकतालाई ७ वर्ष समय राख्नुपर्ने भन्दै विधेयकको विपक्षमा मतदान गरेका हुन् ।

वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा समयसीमा राख्नुपर्ने विषयमा धेरै सांसदले संसोधन प्रस्ताव दर्ता गराएका थिए । सत्तापक्ष तथा प्रतिपक्षी दलका ४५ जना सांसदले ९४ वटा विषयमा संसोधन प्रस्ताव राखेका थिए ।

विधेयकमाथिको दफावार छलफलपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्षका सांसदहरुले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए ।

प्रतिनिधिसभाबाट पारित भएसँगै अब यो विधेयक राष्ट्रियसभामा जानेछ । त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागू हुनेछ ।


प्रकाशित | ६ श्रावण २०७९, शुक्रबार २०:४१