नागरिकता विधेयक फिर्ता भएपनि एनआरएनको अधिकार कसैले खोस्न सक्दैन: सोनाम लामा (भिडियो रिपोर्ट)

काठमाडौं : गैर आवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष तथा नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक सोनाम लामाले सरकारले नागरिकता विधेयक फिर्ता लिए पनि गैर आवासीय नेपालीको नागरिकता सुनीश्चित रहेको बताउनु भएको छ ।

विश्व सन्देशसँग कुराकानी गर्न हुँदै संयोजक लामाले संविधानमा गैर आवासीय नेपाली नागरिकताको विषय स्पष्ट उल्लेख भएकाले संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने स्पष्ट पार्नु भएको हो ।

संयोजक लामाले धेरै गैर आवासीय नेपालीहरुले नागरिकताको विषयमा नबुझेको बताउँदै विश्वभरिका गैर आवासीय नेपालीहरुलाई भ्रममा नपर्न पनि आग्रह गर्नु भयो ।

प्रतिनिधिसभामा चार वर्षदखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले केहि दिन अघि फीर्ता लिने निर्णय गरेको थियो । संसदीय समितिमा ३४ वटा बैठकमा छलफल भएर संसदबाट पारित हुने चरणमा पुगेको विधेयकलाई फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने सरकारी तयारी छ ।

नागरिकता सम्बन्धी विधेयक संसद्मा २०७५ साउन ४ मा दर्ता गरिएको थियो । उक्त विधेयकलाई प्रतिनिधिसधाको राज्य ब्यवस्था समितिले २०७७ असार ७ मा बहुमतले पारित गरेको थियो । प्रतिनिधिसभाको चुनावको मिति घोषणा हुने बेला सरकारले संसदमा अन्तिम चरणमा पुगेको विधेयक फिर्ता लिएको हो । विधेयक परिमार्जन भएपनि अधिकार भने कसैले खोस्न नसक्ने संयोजक लामाको भनाई छ ।

लामाले नेपाल सरकार, राजनीतिक दल र सभामुखहरुसँग भेटेर नागरिकताको विषयमा निरन्तर लविग गरिरहेको पनि बताउनु भयो ।

प्रतिनिधिसभामा पेश गरिएको विधेयकमा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेपछि नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधानका कारण विवाद उत्पन्न भएकाले विधेयक फीर्ता गरेको हो ।

विधेयक फिर्ता भएसंगै गैर आवासीय नेपालीहरुको मुख्य मुद्धा गैरआवासीय नेपाली नागरिकता ओझेलमा पर्ने होकी भन्ने अन्यौलता छाइरहेको अवस्थामा संयोजक लामाले भ्रममा नपर्न आग्रह गर्नु भएको हो ।


प्रकाशित | २३ असार २०७९, बिहीबार १६:४२