के गर्दैछ कुँवर नेतृत्वको एनआरएनए ?

गैर आवासीय नेपाली संघ पछिल्लो समय दुई धारमा विभाजीत भएको छ । संस्थापन पक्षबाट जम्बो कमिटिसहित  तीन जनाको नेतृत्व छ भने अर्कोतर्फ विनोद कुँवर नेतृत्वमा छुट्टै कमिटि छ । आधिकारिताको लागि सघर्ष गरिरहेको कुँवर नेतृत्वको एनआरएनए पछिल्लो समय कसरी अगाडि बढिरहेको छ र के के काम गरिरहेको छ भनेर हामीले अध्यक्ष कुँवरलाई सोधेका छौ ।

कुराकानीमा आधारित कुँवरको भनाई जस्ताको तस्तै

गैर आवासीय नेपाली संघमा विधि, विधान र पद्धतिको लडाइ लडीरहँदा हामीले आफ्नो स्पष्ट अडान कायम राख्दै आएका छौ । विशेष गरि हामीले एनसीसीको माग बमोजीम विधानलाई टेकेर वैधानिक रुपमा महाधिवेशनमा भाग लियौ । एनसिसीको समर्थन र विधानलाई टेकेर मार्च २२–२५ तारिखसम्म काठमाडौंमा महाधिवेशन सम्पन्न गर्यौ । जुन अधिवेशनबाट हामीले नयाँ कार्यसमिति निर्माण गर्यौ । विशेष गरि निकै चुनौतीको सामना गरेर त्यो अधिवेशन सम्पन्न भयो । हामीले जुन तरिकाले महाधिवेशन गर्ने भनेर सोचेका थियौ, त्यो भन्दा निकै असहज भयो । चुनौतीको बाबजुत पनि हामीलाई दिएको जिम्मेवारी पूरा गर्न सफल भयौ । राष्ट्रिय समन्वय परिषद्को भेला आयोजना गर्दा विभिन्न राष्ट्रिय समन्वय परिषद्का साथीहरुले हामीलाई समर्थन गर्नु भयो र त्यसले गर्दा हामीलाई मान्यता प्राप्त भयो । साथै एउटा उत्साह थपियो र महाधिवेशन विधानलाई टेकेर गरियो । जुन अहिलेको २०२१–२०२३ को कार्यसमिति बन्यो र अब २०२३–०२५ को कार्यसमिति बनाउन विधान बनाउनु पर्ने भयो । २०१९–०२१ को विधानबाट हाम्रो कार्यसमिति बनेकाले विधान संशोधन गरेर परराष्ट्र मन्त्रालयमा दर्ता गर्यौ । त्यो विधान अहिले प्रक्रियामा नै छ । त्यसपश्चात हाम्रो कार्यसमितिले सल्लहकारहरु मनोनित गर्यो । सल्लाहकार मनोनीत गदै जादा हामीले विधानगत अपूरो कार्यसमितिलाई पूरा गर्नु पर्ने थियो । लगत्तै हामीले विभिन्न क्षेत्रगत रुपमा आवश्यक पर्ने पदहरुलाई पूरा गर्यौ । त्यसपछि हामीले प्रत्येक विभागहरु गठन गर्यौ । साथै अन्य विभिन्न टाक्सफोर्सहरु पनि बनायौ । टाक्सफोर्स बनाउदैं गर्दा सल्लाहकार र उपाध्यक्षको संयोजकत्वमा पनि बनायौं । जस्तै, श्रमीकहरुको हक हितका लागि हामीले साउदीका धरम केसीलाई टाक्सफोर्सको जिम्मा दियौ ।

त्यसैगरि, संस्था विस्तारको टाक्सफोर्समा म आफै बसे । गैर आवासीय नेपाली संघ नागरिकता ऐनलाई टेकेर संविधानले पनि गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्नु पर्छ भन्ने कुराहरु थियो, त्यसैलाई टेकेर हामीले सरकारको ढोका ढकढकाउनु पर्ने भएकाले पूर्व उपाध्यक्ष सोनाम लामा ज्यूको नेतृत्वमा एउटा टाक्सफोर्स बनायौं । उहाँले अहिले त्यही प्रक्रिया अघि बढाईरहनु भएको छ । त्यस्तै नेपालमा सुरक्षा र टेक्नोलोजीलाई कसरी अघि बढाउन सकिन्छ भनेर हामीले उपाध्यक्ष थर्क सेनको नेतृत्वमा टाक्सफोर्स बनायौं । हाम्रो संस्था सञ्चालनको लागि फण्डको आवश्यकता पर्दछ । सोको लागि हामीले एसी शेर्पाको नेतृत्वमा टाक्सफोर्स बनायौं । यस्तै भवितब्य परेर वा देशमा विभिन्न किसिमका समस्याहरु आइपरेको अवस्थाको लागि त्रिलोक गुरुङको नेतृत्वमा टाक्सफोर्स बनाएका छौं ।

यसबीचमा हामीले ४० भन्दा बढी एनसिसीहरुको संयुक्त भेला पनि आयोजना गरेका छौ । हामीलाई एनसिसी भेलाले पूर्ण साथ र सहयोग तथा समर्थन गर्ने प्रतिबद्धता पनि जनाएको छ ।  अब हामी एनआरएनए एनसिसी विस्तारको कार्यमा लाग्नेछौ । जस्तो हामीले एनसिसी गठन नभएका ठाउँहरुमा पनि गठन गरेका छौ । साथै कति ठाउँमा विभाजित भएका देशहरु थिए । त्यहाँ विभाजनरहित होस् भनेर हामी मिलाउने प्रक्रियामा रहेका छौँ । र अहिले दुई धार देखिएको कारणले हामीलाई कतिपय साथीहरुले समर्थन गर्ने आधारहरु दिनु भएको छैन । हामीले समर्थन प्राप्त गर्ने आधारहरु बनाउँदैं लगेका छौँ । साउदी अरेयिबा, क्यानडा, अमेरिका लगायतका देशहरुमा सुरु गरिरहेका छौँ । अन्य विभिन्न देशमा हामीले काम अघि बढाइरहेका छौँ । भरसक हामी पूरानै साथीहरुलाई राखेर अघि बढ्छौ । परिस्थितीबस एनआरएनए दुई धारमा विभाजित भएपनि हाम्रो मन एउटै हुनुपर्छ भन्ने आधारमा हामी छौ र हामीलाई अवश्य सहयोग हुन्छ भन्ने हामीले आशा लिएका छौं ।

अहिले व्यवस्थापनको कामहरु अघि बढाउनुपर्ने छ । हामीसंग कार्यालय थिएन, त्यसको व्यवस्थापन भइसकेको छ । कर्मचारीको व्यवस्थापन भएको छ । अब उदेश्यहरु पूरा गर्नका लागि फण्ड कसरी जोड्ने भन्ने कुरा छ, त्यसका लागि हामी लागिरहेका छौं । राष्ट्रिय समन्वय परिषद् ५÷७ देशमा सुरु भइसक्यो, अरु धेरै देशमा विस्तार गर्नका लागि हामी यूरोप, अमेरिका गएर नबुझेका साथीहरुलाई बुझाएर राष्ट्रिय समन्वय परिषद् विस्तार गर्ने योजनामा लागेका छौ । एनआरएनए एनसिसी कम्तिमा ४० भन्दा बढी देश होस् भन्ने हाम्रो चाहना छ । यती नभएसम्म हाम्रो अन्तराष्ट्रिय समन्वय परिषद् पनि त्यती दह्रो हुदैंन भन्ने छ ।

यो पटक हामीले गएको अक्टोबरमा गर्नुपर्ने महाधिवेशन ६ महिना पछि गनुपर्ने अवस्था आयो र गएको मार्चमा भयो । यो महाधिवेशनले आफै धेरै समय लियो । अब कार्यकालको १२ महिना जति बाँकी छ । अब बार्षिक साधारणसभा गर्ने समय आइसक्यो । यो समयमा हामीले क्षेत्रीय र राष्ट्रिय सम्मेलन गर्नु पर्नेछ । रिजनल सम्मेलन गर्न सम्भव नभएकाले हामीले यूरोप सम्मेलन गर्ने भन्ने एउटा अठोट गरेका छौं । त्यो सेक्टेम्बरमा एउटा टार्गेट बनाएर अघि बढ्ने सोचेका छौ र त्यसको चाँडै निर्णय गर्नेछौ । वार्षिक सम्मेलन जुन एनआरएन डे छ, त्यसलाई हामीले लगानी तथा श्रमिकका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर योजना बनाएर काठमाडौँमा गर्नेछौं । त्यसलाई हामीले महत्वपूर्ण योजनामा राखेका छौं ।

नेपाल गएको बेला नेपालमा रोजगारको वातावरण कसरी बनाउन सक्छौं र लगानी भित्याउन सकिन्छ भनेर अध्ययन गरिरहेका छौ । त्यसै सिलसिलामा मैले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), परराष्ट्र मन्त्री डा. नारायण खडका, अर्थमन्त्री जनार्दन शर्मालगायतसँग भेट गरे ।भेटका क्रममा नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्री खडकाले गैर आवासीय नेपाली संघको विवादका विषयमा बोल्दै अहिलेसम्म कसैलाई पनि आधिकारिकता दिइनसकेको र एनआरएनएका दुवै समूहलाई समान ब्यवहार गरेको बताउनु भयो । मैले भेटमा मन्त्री समक्ष आधिकारितका विषयमा छिटो भन्दा छिटो निर्णय लिन आग्रह गर्दै कुन आधिकारिक हो भन्ने कुराले अन्यौल छाएको र गैर आवासीय नेपालीहरुले नेपालमा लगानी गर्न आनाकानी गरिरहेको कुरा जानकारी गराएको थिए । साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएको प्रचण्डलाई मैले एनआरएनएको विषयमा राम्रोसँग जानकारी गराएपछि उहाँले आफू भ्रममा रहेको र अब दुई समूहलाई समान ब्यवहार गर्ने बताउनु भयो । विगतमा कतीपय गलत सूचनाले म भ्रममा परेछ अब भ्रमबाट मूक्त भए भन्दै निकै राम्रो प्रतिक्रिया दिनु भयो । यसर्थ पनि एनआरएनएको सवालमा पूर्वप्रधानमन्त्री प्रचण्ड, परराष्ट्र मन्त्री खडका र अर्थमन्त्री शर्मालगायतले हामीलाई निकै नजिकबाट बुझ्नु भएको रहेछ भन्ने कुरा थाहा भयो । तर हामी मन्त्रालयबाट आधिकारिता पाउँनेमा अझै पनि आशावादी छौ र सोही अनुसार आफ्ना कामकारवाही तथा गतिविधी अगाडि बढाइरहेका छौ । त्यसैले संस्थापन पक्षले आफूलाई आधिकारिक भनेर हल्ला चलाए पनि विधी र विधानको हिसावले हामीले नै आधिकारिक भएको कुरा स्वयं सरकारले स्वीकारिसकेकाले भ्रममा नपर्न हुन सबैमा हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।


प्रकाशित | २० असार २०७९, सोमबार १५:५५