प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

कार्यविभाजन अनुसार पाँच जना नयाँ अनुहार मन्त्रिपरिषद्‍मा समावेश भएका छन्। जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुभएको छ। त्यसैगरी मन्त्रिपरिषद्‍मा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी हिराचन्द्र केसीले पाउनुभएको छ।

मन्त्रिपरिषद् हेरफेरपछि प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री रहनुभएको छ। नवनियुक्त मन्त्रीको शपथ सोमबार बिहान ११ बजे हुने बताइएको छ । नेकपा एकीकृत समाजवादी०को तर्फबाट मन्त्री बन्नुभएका प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसन श्रेष्ठलाई बिदा गर्दै प्रधानमन्त्री देउवाले पाँच जना नयाँ अनुहारलाई नियुक्त गर्नुभएको हो।

यसअघि आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, झाँक्री शहरी विकास, खतिवडा स्वास्थ्य तथा जनसंख्या र श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेका नेतालाई फिर्ता बोलाएर नयाँ अनुहार पठाएको हो । शनिबार मात्र बसेको केन्द्रीय समितिको बैठकले मन्त्री फिर्ता बोलाउने सचिवालय बैठकको निर्णयलाई पारित गरेको थियो ।


प्रकाशित | १२ असार २०७९, आईतवार २१:२५