सूर्यविनायक नगरपालिकाको ११ औ नगरसभा असार ९ र १० गते हुने

भक्तपुर: सूर्यविनायक नगरपालिकाको ११ औं नगर सभा यही असार ९ र १० गते हुने भएको छ । नगरपालिकाका मेयर बासुदेव थापाको अध्यक्षतामा बिहीबार बसेको कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट यही असार ९ र १० गते सार्वजनीक गर्ने निर्णय गरेको हो ।

नगरपरिषद् भातेढिकुरस्थित होटल भक्तपुर भ्यूमा हुनेछ । पहिलो दिन मेयर थापाले सभामा नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ । सोही दिन दफाबार छलफल पछि कार्यक्रम पारित गर्दै दोस्रो दिन उपमेयर सरिता तिमिल्सिना भट्टराईले बजेट पेश गर्नुहुनेछ ।

पहिलो नगरसभाको तयारी अन्तर्गत नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा पत्रकारहरुसँग राय सल्लाह सुझाव संकलनका लागि शुक्रबार भएको भेटमा मेयर थापाले बजेट निर्माणको कार्य तीब्र रुपमा भइरहेको जानकारी गराउनु भयो । उहाँले विभिन्न क्षेत्रबाट सुझाव संकलनको कार्य भइरहेको र त्यसै सिलसिलामा पत्रकारका राय सुझाव संकलनको कार्य भएको बताउनु भयो ।

सम्पूर्ण बजेट निर्माणअघि पत्रकारको नजरमा परेका क्षेत्रलाई समेट्न आवश्यक ठानेर भेटघाटको कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्दै मेयर थापाले सबैको सहयोग भएमा सूर्यविनायकलाई छुट्टै पहिचान कायम गर्न सफल हुने बताउनु भयो ।

पहिलो कार्यकालमा सबैको सहयोगका कारण धेरै काम गर्न सफल भएको स्मरण गर्दै मेयर थापाले दोस्रो कार्यकालमा पनि त्यस्तै सहयोगको अपेक्षा गर्नु भयो ।

कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकाका हरेक गतिविधि पादरर्शी बनाउन सूचना केन्द्र स्थापनाको तयारी भइरहेको जानकारी दिनु भयो । नगरभित्र दैनीक के के काम भइरहेका छन् र जनप्रतिनिधिले के कस्तो काम गर्दै छन् भन्ने जानकारी दिने उद्देश्यले सूचना केन्द्र स्थापना गर्न लागिएको उहाँले बताउनु भयो । सो अवसरमा सञ्चारकर्मीहरुले आआफ्ना राय सुझाव राख्नु भएको थियो ।


प्रकाशित | ३ असार २०७९, शुक्रबार २१:०४