कुँवर नेतृत्वको एनआरएनए र प्रचण्डबीच भेटवार्ता, एनआरएन विवादका विषयमा छलफल

काठमाडौँ: विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) र नेपाल कम्युनिष्ठ पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज विहान संघका अध्यक्ष बिनोद कुँवर र प्रचण्डबीच भेटवार्ता भएको हो । सो भेटमा एनआरएनए विवाद, बजेट, वैदेशिक लगानी, फोहोर व्यवस्थापन लगायतका विषयमा छलफल भएको छ ।

भेटको क्रममा अध्यक्ष कुँवरले एनआरएनएको विवाद र समाधानको विषयमा जानकारी गराउनु भएको थियो । सरकारले ल्याएको बजेटमा एनआरएनएले उठाउँदै आएका केही विषयको सम्बोधन गर्न पहल गरेको भन्दै कुँवरले प्रचण्डलाई धन्यवाद दिनु भयो ।

त्यसैगरी कुँवरले काठमाडौँ, भरतपुर महानगर लगायतका क्षेत्रको फोहोर कोरियन प्रविधिबाट व्यवस्थापन गरेर मोहरमा परिणत गर्न सकिने बताउनु भएको थियो । त्यसमा कोरियन प्रविधि भित्र्याएर फोहोरको व्यवस्थापन गर्न आफू तयार रहेको बताउँदै कुँवरले त्यसको लागि सहजीकरण गरिदिन प्रचण्डसँग आग्रह समेत गर्नु भएको थियो ।

जवाफमा अध्यक्ष प्रचण्डले एनआरएनए विवाद सम्मानजनक अवस्था सिर्जना गरी समाधान गर्नुपर्नेमा आफू र आफ्नो पार्टीको धारणा रहेको बताउनु भएको थियो । प्रचण्डले विवाद समाधानको लागि आफूले सरकार तथा परराष्ट्र मन्त्रालयसँग पहल गर्ने वचन समेत दिएको भेटपछि कुँवरले जानकारी दिनु भयो ।

नीति तथा कार्यक्रम र बजेटले एनआरएनएलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाएको भन्दै ढुक्क भएर लगानी गर्न र काठमाडौँ, भरतपुरलगायतका क्षेत्रको फोहोरले हैरानी भएको भन्दै प्रचण्डले यसमा कोरियन अनुभव र प्रविधि भित्र्याउन प्रचण्डले आग्रह गरेको कुँवरले जानकारी दिनु भयो । उहाँले भरतपुर महानगरसँग कोरियन कम्पनीले यसअघि सम्झौता गरेको जानकारी गराउँदै त्यसलाई सहजीकरण गरिदिन समेत प्रचण्डले कुँवरसँग आग्रह गर्नु भएको थियो ।


प्रकाशित | ३१ जेष्ठ २०७९, मंगलवार १५:३०