कीर्तिपुरको फोहोरमैला व्यवस्थापनमा एनआरएनएले सहयोग गर्ने

काठमाडौँ । विनोद कुँवर नेतृत्वमा रहेको गैरआवासीय नेपाली संघ (अन्तराष्ट्रिय समन्वय परिषद) ले कीर्तिपुरको फोहोरमैला व्यवस्थापनमा सहयोग गर्ने भएको छ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मी र एनआरएन (आईसीसी)का अध्यक्ष विनोद कुँवरको टोलीबीच फोहोर व्यवस्थापनको विषयमा पालिका कार्यालयमा छलफल भएको हो । सो छलफलमा कोरियन प्रविधिबाट फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएको छ ।

नेपालमा देखापरेको फोहर विसर्जनका समस्याहरुलाई न्यूनिकरण गर्न र त्यसलाई आधुनिक प्रविधिबाट प्रशोधन गरी उपयुक्त व्यवस्थापन गर्न नगरपालिकासँग समन्वय गर्न तयार रहेको र त्यस कार्यमा मेयर नकर्मी सकारात्मक भएको संघका अध्यक्ष कुँवरले बताउनु भयो । सरकारले आवश्यक जग्गा, जनताको घरघरमा व्यवस्थित डस्वीन र जनचेतनासहितको वातावरण दिएमा फोहोरबाट मोहर बनाउन सकिने अध्यक्ष कुँवरको भनाई छ ।

गैर आवासीय नेपालीहरु नेपालमा फोहोरदेखि ठूला उद्यौगिक क्षेत्रमा लगानी गरेर जनतालाई प्रशस्त रोजगारी, सरकारलाई राजश्व र देशलाई स्वर्ग बनाउन तयार रहेकोले सरकारले त्यसका लागि लगानीमैत्री वातावरण गरिदिनुपर्नेमा अध्यक्ष कुँवरले जोड दिनु भयो ।


प्रकाशित | ३१ जेष्ठ २०७९, मंगलवार १०:४०