काठमाडौं: असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने भएको हो ।
सडक विभागले विज्ञप्ति जारी गर्दै वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रदै जाने भएकोले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक डिभिजनहरू मातहत रहेका कुनैपनि सडक खन्ने स्वीकृति नदिइने जनाएको छ ।
कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने समेत जनाएको छ ।
प्रकाशित | २५ जेष्ठ २०७९, बुधबार ०८:२४