रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न

ललितपुर : आज रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । भोटो देखाउने जात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा लगायतका उच्च पदस्थ अधिकारी सहभागी हुनु भएको थियो ।

मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने चलन छ । तीन हप्तासम्म लगनखेलको इतीटोल चौबाटोमा रहेको मच्छिन्द्रनाथ र मीननाथको रथ तानेर गएको बुधवार जावलाखेलमा पुर्‍याइएको थियो । भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ ।

भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुङ्गमती पुर्‍याइन्छ । मच्छिन्द्रनाथको जात्राका क्रममा विभिन्न ठाउँमा रथ परिक्रमा गरिरहँदा जुन ठाउँमा रथ पुग्छ, त्यहाँका बासिन्दाले आफन्त, नातागोता र साथीभाइलाई बोलाएर मिठोमसिनो खुवाएर जात्रा मनाउने परम्परा छ ।


प्रकाशित | २१ जेष्ठ २०७९, शनिबार २१:१९