प्रदेश ५ को राजधानी दाङ कि बुटवल ? नामाकरण र स्थायी राजधानी तोक्न छलफल शुरू

बुटवल: प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोक्न छलफल आरम्भ भएको छ । प्रदेश ५ को राजधानी दाङ कि बुटवल हुने भन्ने विषयमा विगतदेखि नै विवाद रहँदै आएको छ । प्रदेश सरकारले राजधानी र केन्द्र सबैलाई पायक पर्ने ठाउँमा तोक्न भन्दै प्रदेशस्तरीय छलफल थालेको थियो । राजधानीका लागि केन्द्र पर्ने दाङ लगायत पूर्वी रुकुम, रोल्पा, प्युठान, बाँके, बर्दियाले दावी गर्दै आरहेका छन् । तर गुल्मी, पाल्पा, रुपन्देही, नवलपरासी लगायतले बुटवल केन्द्र बन्ने बताएका छन्। कपिलवस्तु र अर्घाखाँचीले कपिलवस्तुलाई प्राथमिकतामा राखेका छन्।

१२ जिल्लामा खटिएका प्रदेशसभा सदस्यहरूले जिल्लाबाट ल्याएका सुझावमाथि शनिबारदेखि अस्थायी राजधानी बुटवलमा छलफल शुरू गर्दै यसको निकाश दिन लागिपरेका हुन । यसअघि प्रदेश संसदको विशेष समितिले प्रदेशका १२ जिल्लामा जानका लागि ६ वटा टोली बनाएको थियो। साउन २४ गते सभामुख पूर्णबहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा सदस्यहरू मनोनयन गरेका थिए।

प्रदेश ५ को नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिले ३ महिनाभित्र नाम र स्थायी राजधानी सिफारिससहितको प्रतिवेदन पेस गर्ने समय सीमा तोकिएको थियो। फागुन १६ गतेभित्र सबै जिल्लामा सुझाव संकलन सकिने गरी ६ वटा टोली जिल्लाहरूमा खटिएको थियो । उक्त समितिको म्याद पुन थप गर्दै राय सुझाव संकलनपछि यसको औपचारिक छलफल आरम्भ गरिएको हो ।


प्रकाशित | २१ बैशाख २०७६, शनिबार १९:४४