एनआरएनएको विधान सम्मेलन आगामी अक्टोबरमा गर्ने निर्णय

काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान सम्मेलन आगामी अक्टोवरमा काठमाडौं हुने भएको छ । आगामी अक्टोबर ८ देखि १० मा विधान सम्मेलन, विज्ञ सम्मेलन तथा एनआरएनए डे गर्ने निर्णय भएको हो ।

संघको ८५ औं आइसिसी बैठकले आगामी कार्यकालको लागी नीति तथा कार्यक्रमहरु तयार गर्नका लागि उपमहासचिवद्वय लाल काफ्ले र रामशरण सिम्खडालाई कार्ययोजना प्रस्तुतको लागि जिम्मेवारी दिएको छ। २०२१-२०२३ सञ्चालन सम्बन्धी कार्यविधि निर्देशिका पनि अनुमोदन गरेको छ ।

त्यस्तै, संघको क्षेत्रीय संयोजकहरुलाई पदाधिकारी बैठकमा परिवेक्षक रुपमा सहभागिता गराउने, १० औं महाधिवेशनमा शुल्क तिर्न बाँकी पदाधिकारी ,सदस्य तथा राष्ट्रिय समन्वय समितिलाई १५ दिन भित्र कोषमा शुल्क जम्मा गर्न म्याद थप्ने, विधान समिति सदस्यसचिव गंगाधर गौतमलाई जिम्मेवारी दिने र बिधान समिति सदस्य आउन इच्छा जाहेर गरेका सदस्यहरुलाई सहभागिता गराई पूर्णता दिने निर्णय गरेको छ।

त्यस्तैगरि, संघको आगामी कार्यकालको लागी महिला उमेद्वारी र बाँकी एनआरएनएको प्रयोजनको लागि तोकिएको शुल्कमा ५० प्रतिशत रकम घटाउने निर्णय पनि गरेको छ ।

त्यस्तै, बैदेशिक रोजगार कल्याणकारी कोष वृद्धि तथा उद्देश्य लक्षित कार्य गर्ने, संघको दशौं महाधिवेशनको संघारमा देखिएका समस्या समाधान र एनआरएनए एकता कायमको लागि अन्तर्राष्ट्रिय सचिवालय पदाधिकारीहरुलाई समिति गठन गर्न सक्ने अधिकार दिने निर्णय गरेको छ।

बैठकले संघका डिपार्टमेन्ट प्रमुख, कार्यदल, समितिका संयोजकहरुलाई १५ दिन भित्र टिओर र राष्ट्रिय समन्वय समिति संग समन्वय गरी कार्य समितिलाई पूर्णता दिन अनुरोध गरेको छ । गैर आवासीय नेपाली संघको एघारौं विश्व सम्मेलन अक्टोबर ८ देखि ११ या ११ देखि १४ गते सम्म गर्ने निर्णय गरेको छ।

कार्यकारी अध्यक्ष कुल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रम भर्चुअल रुपमा आयोजना गरिएको थियो । बैठकमा अध्यक्षद्धय डा. बद्री केसी, रविना थापा लगायत पदाधिकारी, २२८ मध्ये ११६ जना आइसिसी सदस्यको उपस्थिति रहेको थियो । बैठक ६ घण्टा १२ मिनेट सम्म चलेको थियो।


प्रकाशित | १९ बैशाख २०७९, सोमबार १०:१७