आर्मी कर्णाली प्रिमियर लिगको च्याम्पियन

काठमाडौँ: सुर्खेतमा जारी वाइवाइ कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि विभागीय टिम आर्मीले उचालेको छ । शनिबार भएको फाइनलमा बुटवलको न्यु होराइजनलाई ५९ रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो पटक उपाधि उचालेको हो ।

उपाधि सहित आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्याे । उपविजेता हाेराइजनले २ लाखमा प्राप्त गर्याे । १ सय ४६ रनको लक्ष्य पछ्याएको होराइजन १८ ओभर ३ बलमा ८७ रनमा समेटियो । होराइजनका लागि बिशाल सुनारले २६ रन बनाए ।

निश्चल चौधरीले १९, राहुल प्रजापति १२ तथा सुनिल धमलाले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । आर्मीका जितेन्द्र मुखिया र शाहब आलमले समान ३/३ विकेट हात पारे । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाउदै १ सय ४६ रन बनाएको थियो ।

हरिबहादुर चौहानले ५६ रनको अर्धशतकीय पाली खेल्दा राजु रिजालले ३४ तथा भीम शार्कीले २१ रन बनाए । होराइजनका बिकाश श्रेष्ठले २ विकेट लिए । फाइनल खेलका म्यान अफ द म्याच आर्मीका हरि बहादुर चौहान घोषित भए । खेलपाटी


प्रकाशित | २१ बैशाख २०७६, शनिबार १९:०७