स्थानीय निर्वाचन : उम्मेदवारविरुद्ध परेका उजुरीमाथि जाँचबुझ हुँदै

काठमाडौं : स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुको मनोनयनपत्र र उजुरीमाथि आज र भोलि जाँचबुझ हुने भएको छ । निर्वाचन आयोगले वैशाख ३० गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो ।

मंगलबार बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय तोकिएको थियो ।

त्यस्तै, आयोगको तालिका अनुसार १६ गते साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने छ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ गते चुनाव चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि एक लाख ५० हजार ४७९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह चुनावका लागि देशभरबाट महानगर, उपमहानगर र नगरपालिका प्रमुखका लागि ३४ सय बढीले उम्मेदवारी दर्ता गराएका हुन् ।

देशभर ३४ सय ६६ जनाले प्रमुख (मेयर) पदका लागि उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । त्यसैगरी, उपप्रमुख पदमा २१ सय ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिका अध्यक्षका लागि ३३ सय ७८ जनाले मनोनयन दर्ता गरे भने उपाध्यक्ष पदमा २३ सय ९२ जनाले मनोनयन दर्ता गराएका छन् ।

आयोगले तथ्यांक अनुसार वडाध्यक्षका लागि ३४ हजार ९४२ जनाले मनोनयन दर्ता गरेका छन् । महिला सदस्यका लागि २६ हजार ६१, दलित महिला सदस्यका लागि २३ हजार ४५६ र खुला सदस्यका लागि ५४ हजार ६४० जनाले उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन् ।


प्रकाशित | १४ बैशाख २०७९, बुधबार ०८:०९