एनआरएन फण्डलाई ५० अर्ब पुर्‍याउनुस, सरकार २० प्रतिशतसम्म लगानी गर्न तयार छ: अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले १० अर्बको एनआरएन फण्डलाई ५० अर्ब पुर्याउन आग्रह गर्नु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले बुधबार आयोजना गरेको डलर खाता र लगानी विषयक कार्यक्रममा बोल्नु हुँदै अर्थमन्त्री शर्माले फण्डलाई ५० अर्ब पुर्याए सरकार २० प्रतिशतसम्म लगानी गर्न तयार रहेको बताउनु भएको हो ।

‘एनआरएन फण्डलाई कम्तिमा ५० अर्ब पुर्याउनुस्, हामी पनि सरकारको तर्फबाट १० देखि २० प्रतिशतसम्म लगानी गर्न तयार छौ’, अर्थमन्त्री शर्माले भन्नु भयो । मन्त्री शर्माले यो कुरालाई गम्भिरतापुर्वक लिएर अगाडि बढन पनि गैर आवासीय नेपाली संघलाई आग्रह गर्नु भयो । संघले यसअघि १० अर्बको एनआरएन डेभलपमेन्ट फण्डको स्थापना गरेर हाल प्रतिबद्धताअनुसार रकम संकलन गर्ने कार्य अगाडि बढाइरहेको छ ।

डलर खाता खोल्न आह्रवान

अर्थमन्त्री शर्माले विदेशमा रहेका गैर आवासीय नेपालीहरुलाई डलर खाता खोल्न पनि आह्रवान गर्नु भयो । मन्त्री शर्माले विदेशमा निस्कृय रहेको पुँजीलाई सक्रिय बनाउन र लगानी तथा बचतसहितको ब्यवस्थाका लागि डलर खाता खोल्ने ब्यवस्था गरिएको बताउनु भयो ।

डलर खाता खोल्न धेरै समस्या रहेको भन्ने गुनासो सुन्नमा आए पनि सरकार सबै झन्झड हटाउन तयार रहेको तर सबै झन्झड हल भएपछि पनि खाता खोल्ने कि नखोल्ने ? भन्दै प्रश्न पनि गर्नु भयो ।

उहाँले रुस र युक्रेनको युद्ध हुन्छ र आर्थिक संकट आउँछ भनेर डलर खाता खोल्ने ब्यवस्था नगरिएको भन्दै विदेशमा थुप्रिएको पैसालाई नेपालमा बचत गरेर मुनाफा निकाल्न सकियोस भनेर सो ब्यवस्था गरिएको स्पष्ट पार्नु भयो ।

मन्त्री शर्माले कुनै पनि देशमा बस्ने जोकोही नेपालीले आफ्नो डकुमेन्ट पेश गरेर खाता खोल्न सकिने पनि बताउनु भयो ।

नेपाल श्रीलंका जस्तो बन्न सक्दैन

मन्त्री शर्माले नेपाल श्रीलंका जस्तौ बन्न नसक्ने भन्दै हल्लाको पछि नलाग्न पनि आग्रह गर्नु भयो । सरकार आर्थिक संकट आउन नदिनेतर्फ सचेत र सजग रहे पनि श्रीलंका जस्तो अवस्था भने आउनै नसक्ने बताउनु भयो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ११ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको र जुन ६।७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको मन्त्री शर्माले बताउनु भयो ।

मन्त्री शर्माले नेपालमा पर्यटन आउने क्रम शुरु भएको र नयाँ वर्षमा सबै होटलहरु खचाखच भइरहेको जानकारी गराउनु भयो । ‘८१ प्रतिशत पर्यटन क्षेत्र खुम्चिएको अवस्थामा थियो तर केहि सातादेखि चलायमान हुन थालेको छ, यी सबै कारणले विदेशी मुद्रा सञ्चितिमा कुनै समस्या आउँने सम्भावना छैन’, मन्त्री शर्माले भन्नु भयो ।

बजेट निर्माणमा सुझाव पेश गर्न आग्रह

त्यस्तै, मन्त्री शर्माले बजेट निर्माणमा सुझावहरु दिन पनि गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भयो । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा रहेको बताउँदै मन्त्री शर्माले ईमेलमार्फत आर्थिक संकट हल गर्न के गर्नुपर्ला ? भनेर सुझावहरु पठाउन र बुँदागत रुपमा पठाइएका सुझावहरुलाई समावेश गरेर बजेट निर्माण गरिने उहाँले बताउनु भयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले गैर आवासीय नेपालीहरुलाई सरकारको आलोचना भन्दा पनि सहयोगी बन्न आग्रह गर्दै डलर खाता, लगानीलगायतका विषयमा स्पष्ट पार्नु भएको थियो ।

राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा. निलम ढुंगानाले डलर खाता सम्बन्धी राखिएको जिज्ञासा र सेवा सुविधाको विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालमा समस्या पर्दा केही नसोची गैर आवासीयहरुलाई छिटो भन्दा छिटो डलर खाता खोलेर पैसा पठाउन आग्रह गर्नु भयो ।

अहिलेको समयमा गैर आवासीय नेपाली जसले जति सक्छ सहयोग गर्नुपर्ने महतोले बताउनु भयो । नेपालमा सरकार फेरबदल हुँदा नियम परिवर्तन छिटो हुने गरे पनि पहिले भन्दा नराम्रो नहुने भएकाले निर्धक्क भएर डलर खातामा पैसा पठाउन उहाँले आग्रह गर्नु भयो ।

गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्षद्धय डा. बद्री केसी र रविना थापाले गैर आवासीय नेपालीहरुलाई डलर खाता खोलेर मुलुकको आर्थिक संकटमा सहयोग गर्न आग्रह गर्नु भयो ।

महासचिवद्धय गौरी राज जोशी र डा. केशव पौडेलले संयुक्त रुपमा संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष भूषण घिमिरेले विदेशबाट अनलाइनमार्फत डलर खाता खोल्दा, डलर पठाउँदा, सो खातामा बचतमा राख्दा र आवश्यक परेका बेला उक्त रकम फिर्ता लैजाँदा आउने समस्या तथा मौद्रिक नीतिले गैर आवासीय नेपालीलाई पारेको अप्ठ्यारोका बारेमा कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


प्रकाशित | ३० चैत्र २०७८, बुधबार २२:१२