बहराइन टोलीको हिमाल आरोहण : चिकित्सकको रुपमा मेरा एक महिना

डा प्रकाश खरेल

कोभिड-१९ महामारीबाट सबै क्षेत्र जस्तै पर्वतारोहण र हिमाली पदयात्रा पनि अछुतो रहन सकेको छैन। नेपालको पछिल्लो पर्वतारोहणको सिजन पनि पूरै ठप्प नै हुन पुग्यो। यस क्षेत्रसंग प्रत्यक्ष वा परोक्ष रुपमा आबद्ध हजारौं मानिसको रोजीरोटी बन्द छ, दैनिकी कष्टप्रद छ । पर्वतारोहण र हिमाली पदयात्राका लागि सरकारले अनुमति दिएन, अघिल्लो वर्षको मंसिरमा सिजन सकेर करिब एक वर्ष बेरोजगार रहेका यस क्षेत्रमा आबद्ध ती हजारौं मानिसको जीविकोपार्जनमा कति समस्या भोगिरहेका होलान्? सोचिरहन्छु । 

यसैबीच बहराइनका राजकुमार पनि सदस्य रहेको  बहराइन रोयल गार्डको टोली सगरमाथा क्षेत्रको लोबुचे हिमाल र मनास्लु संरक्षण क्षेत्रको मनास्लु हिमाल पर्वतारोहण गर्न आउने र सोको लागि मन्त्रिपरिषदले अनुमति प्रदान गरेको समाचार थाहा पाउँदा खुसी भएँ। उनीहरुको यहाँ रहँदा-बस्दाको व्यवस्थापन र पर्वतारोहणमा सहयोगको जिम्मा नेपालकै सेभेन समिट ट्रेक्स कम्पनीले लिएको रहेछ। पर्वतारोहण टोलीलाई हिमालमा रहने अवधिसम्मका लागि औषधोपचारको पाटो हेर्न चिकित्सकको आवश्यकता  रहेछ। र, पर्वतारोहण टोलीको लागि चिकित्सकको खोजी गर्दै सेभेन समिट कम्पनीले मसँग सम्पर्क गर्‍यो। 

हिमालमा देखिने समस्याहरु पहाड अनि तराई/ट्रपिकल क्षेत्रमा भेटिने समस्या भन्दा फरक प्रकृतिका हुन्छन्।  पर्वतारोहण र हिमाली पदयात्रामा विशेष गरी लेक लाग्ने, हिउँले हातगोडा खाने, निद्रामा गडबडी, खानामा अरुचि, झाडापखाला जस्ता समस्याहरु धेरै देखिन्छन् जसको पहिचान र समाधान समयमा नै गर्न सक्नुपर्छ। सानो समस्याले महिनौं लगाएर गरेको दुःख र तयारी सँगसँगै ठूलो खर्च पनि नाश हुने मात्र होइन, समस्या बढेर ज्यान नै लिने जोखिम पनि रहन्छ। फेरि हाम्रो मुलुकमा समथर तराईमा त स्वास्थ्य सेवा सहज छैन, हिमालका काखमा सहज हुने कुरै भएन। 

एमबिबिएसको अध्ययन पूरा गरेर मैले माउन्टेन मेडिसिन सोसाइटी अफ नेपाल (एमएमएकएन) ले सञ्चालन गर्ने उच्च हिमाली क्षेत्रसँग सम्बन्धित चिकित्सकीय तालिम पनि लिइसकेको थिएँ। साथै योभन्दा अगाडि नै गोसाइकुन्ड (४३८० मि)  अनि खुम्बु क्षेत्रमा पर्ने गोक्यो (४८०० मि) अनि मछेर्मो क्षेत्र (४४००मि) मा चिकित्सकको रुपमा काम गरिसकेकाले उच्च हिमाली क्षेत्रका केही अनुभव पनि थियो। हिमाली चिकित्सासँग चासो राख्ने चिकित्सकहरुले नै सञ्चालन गरिरहेको एमएमएकएनले रुचि राख्ने युवा चिकित्सकहरुलाई निरन्तर उच्च हिमाली क्षेत्रसँग सम्बन्धित ज्ञान, सिप र तालिम प्रदान गर्ने मात्र होइन, हिमालयन उद्धार संघ (एचआरए) सँगको सहकार्यमा नेपालका हिमाली क्षेत्रमा स्वास्थ्य क्लिनिक, अस्थायी शिविर र स्वास्थ्य शिक्षा पनि प्रदान गर्दै आइरहेको छ। डिआइएमएम गर्ने बेला उच्च हिमाली क्षेत्रमा लाग्ने रोग बाहेक पर्वतारोहणका आधारभूत सिपहरु र उद्धारका सिपहरु पनि माउन्टेन गाइडहरुबाट सिकेको थिएँ।

बहराइनका  राजकुमारसमेत संलग्न पर्वतारोहण टोली १८ जनाको समूह थियो जसमा कसैलाई पनि पहिले हिमाली क्षेत्रको अनुभव थिएन।  समुन्द्र सतहबाट आएका सबैलाई पहाड अनि हिमाल नयाँ कुरा थिए। रोचक त कतिबेला भयो भन्दा गोकर्ण रिसोर्टमा बसिरहेका राजकुमारलाई एकदिन सामान्य निद्रा लागेन छ अनि मलाई सोधे, काठमाडौँको altitude  पनि १२०० मिटर मै छ, कतै  यो लेक लागेको त  होइन भनेर। उनीहरु सबैलाई  काठमान्डौको उचाइ नै  बढी लागेको थियो।  

भ्रमणको सुरुवात गर्नुअघि नै नेपाल सरकारको कोभिड-१९ मापदण्डहरु अनुसार नै व्यवस्थापन कम्पनीले सबै तयारी  गरेको थियो।  काठमाडौँ आउने दिन नै सबैलाई गोकर्ण रिसोर्टमा आइसोलेट गरिएको थियो। आउनासाथै सबैको पिसिआर गरियो अनि ५ दिनपश्चात पुनः पिसिआर  गरेर सबैको नतिजा नेगेटिभ आएपछि लुक्ला प्रस्थान गरियो।  टोलीले पहिला उचाइसँग अभ्यस्त हुनका लागि खुम्बु क्षेत्रको लोबुचे पूर्व हिमाल  (६११९ मि)  आरोहण गर्ने योजना तय गरेको थियो भने त्यसपछि मात्रै गोर्खा जिल्लामा रहेको मनास्लु (८१५६ मि) हिमाल आरोहण  जाने कार्यक्रम थियो ।

टोलीमा कसैलाई पनि पहिला उचाइको अनुभव नभएको कारण सजगता अपनाउँदै मैले  लुक्लादेखि नै सबै सदस्यको दैनिक स्वास्थ्य अपडेट लिन सुरु गरेँ।  टोलीका  सबै सदस्य आर्मी भएकाले पनि होला सबै जना निकै अनुशासित थिए। राजकुमार भनेपछि एकदम विशेष आतिथ्यता-सत्कार र विशेष सेवा खोज्ने होलान् भन्ने मनमनै लागिरहेको थियो तर मेरो अपेक्षा विपरीत उनी निकै  सालिन, भद्र अनि हाम्रै चलन र व्यवस्थापनमा सहजै घुल्ने र चल्ने खालका रहेछन्।  

टोलीको दैनिक बिहान अनि रात्रिकालीन भोजनपछि ब्रिफिङ हुन्थ्यो।  दिनभरिको समीक्षा, अर्को दिनको योजनाका बारे कुरा हुन्थ्यो। उच्च हिमाली क्षेत्रमा पहिलो चोटी आएकाले पनि स्वास्थ्यबारे सबै जना निकै सचेत देखिन्थे। दैनिक रूपमा टोलीका सदस्यहरु आफ्ना स्वास्थ्य समस्याहरु लेक लागेका लक्षण हुन् या होइनन् जस्ता कुराहरु लगायत हिमाली चिकित्साका अन्य विभिन्न पक्षबारे पनि आफ्ना जिज्ञासा राख्थे।  

लुक्लादेखि नाम्चे बजारसम्मको यात्रामा सबैको स्वास्थ्य अवस्था राम्रै रह्यो। नाम्चेको पहिलो रातको बसाइमा केही सदस्यहरुमा लेक लागेको लक्षणहरु  देखियो। जस्तै: टाउको दुख्नु, भोक नलाग्नु, बान्ता हुनु, चक्कर लाग्नु आदि।  

हिमाली क्षेत्रमा पदयात्रा गर्दा दैनिक रुपमा धेरै उचाइ हासिल नगरिकनै (बढीमा दैनिक ५०० मि) पदयात्रा गरिनुपर्छ र हाम्रो पदयात्राको योजना पनि सोही मापदण्ड हेक्का राखेरै तय गरिएको थियो। नाम्चेमा उचाइसँग शरीरलाई अभ्यस्त गराउन छुट्याइएको आराम दिन र केही औषधोपचारपछि टोली थप उचाइ उक्लियौं। 

नाम्चेबाट माथि जाँदै गर्दा, बिरामी हुनेको संख्या पनि बढ्दै गयो। लोबुचेको आधार शिविर पुग्दा नै केही सदस्यहरुले सगरमाथा आधार शिविरसम्म पुग्न अनि लोबुचे हिमाल आरोहण गर्न नसक्ने अवस्था आयो। हिमाली क्षेत्रमा लेक लागेपछि पहिलो उपचार भनेको थप उचाइ नउक्लनु र समस्याको गम्भीरता हेरेर तल्लो उचाइमा झर्नु नै हो। हाम्रा टोलीका केही सदस्यहरुलाई केही तल नै छोडेर बाँकी सदस्यहरु माथि चढ्यौँ।  

आठ हजार अग्ला हिमालको तुलनामा लोबुचे  हिमालको उचाइ ज्यादै धेरै नभए तापनि समुद्र सतहबाट आएको र पुरानो उचाइको अनुभव नभएको टोलीले चढ्नु  भनेको सजिलो कुरा थिएन। तर आर्मी भएको हुनाले पनि होला, सबै जना चढ्न सफल भए।  

लोबुचे  हिमालपश्चात टोली केही दिन आराम गर्न काठमाडौँ फर्कियो र सोपश्चात मनास्लु आधार शिविर प्रस्थान गर्‍यो। आफ्नो कार्यस्थलको व्यस्तताले टोलीसँग मनास्लुतर्फ उड्न पाइनँ तर आफ्नो काम सकेर एक हप्तापछि टोलीसँग पुनः संग्लन भए। लोबुचे हिमाल आरोहणपश्चात सदस्यहरु मनास्लु आधार शिविरको उचाइसँग अभ्यस्त भइसकेका थिए। मनास्लु आधार शिविरमा लेक लाग्ने समस्याभन्दा पनि अन्य स्वास्थ्य समस्याहरु बढी देखिए। खुट्टामा फोका उठ्ने, खोकी, थकान, दुखाइ जस्ता सानासाना समस्याले टोलीलाई सताएको थियो तर तिनै साना समस्याहरुले मनास्लु चढ्ने लामो तयारी र मिहिनेतको परीक्षा पनि लिँदै थिए।

हिमालमा सीमित स्रोत अनि उपकरणबाट नै समस्याको पहिचान र समाधान गर्नुपर्छ र मैले पनि सक्दो त्यसो गरेको थिएँ। कुनै पनि हिमाल पर्वतारोहणमा रहँदा पर्वतारोहण गर्ने टोलीसँगसँगै अरु थुप्रै सदस्यहरु हुन्छन्। हिमाल चढ्न सघाउने शेर्पा, भान्साको टोली, भरियाको टोली, सहयोगी आदि सबै गर्दा टोलीको आकार २-३ गुणा बढेको हुन्छ।  जति धेरै संख्या, उति धेरै समस्या। टोलीका अन्य सदस्यहरुको पनि पुरानोदेखि नयाँ सबै स्वास्थ्य समस्याहरुको त्यहाँ मिल्नेसम्म सामाधान गरिदिनुपर्छ। आखिर एक्लै होइन, सबै सदस्यको संयुक्त प्रयासमा पो चढिन्छ हिमाल।

टोलीका केही सदस्य मनास्लुको आधार शिविरमा बिरामी परेको थिए। लक्षण हेर्दा संक्रामक कारण  देखिएको हुनाले, रगत अनि अन्य जाँचका लागि काठमाडौँ पुर्‍याइएको थियो। मौसमका कारणले गर्दा आरोहण टोलीले तेस्रो क्याम्पबाट सिधै शिखरको यात्रा गर्नु परेको थियो, जसमा उनीहरुले २८ घण्टाको लगातार यात्रा गरेका थिए। सो आरोहण दलले एक महिनाको तयारीपश्चात आरोहण सम्पन्न गरेको थियो, सबै १८ सदस्यले नै। सदस्यहरुको अति उच्च क्षेत्रको आरोहणले गर्दा आधार शिविरमा बसेर समन्वय र स्वास्थ्य समस्या व्यवस्थापन गरेको त्यो रात मलाई पनि चुनौतीपूर्ण नै रहयो। आरोहण सकेर टोलीका सदस्यहरु पालैपालो आधार शिविर  फर्कंदा , सबैलाई  केही न केही समस्या भएकै हुन्थ्यो। म आधार शिविरको टेन्टमा फर्किएका सबैको स्वास्थ्योपचार गरेर आफ्नो टेन्टमा सुत्न जाँदा , रातको १२-१ जति बजेको थियो।  

सबै जना सुरक्षित साथ हिमाल आरोहण सफल गरेको अनि कुनै ठुलो दुर्घटना हुन नपाएको  हुनाले सबै जना खुसी थियौं।  चिकित्सकका रुपमा पनि सबै सदस्यले सुरक्षित आरोहण गरेर फर्कंदा मलाई पनि खुसी लाग्यो। मनास्लु आधार शिविर नजिकै रहेको सामागाउँका बासिन्दाले बहराइन टोलीले सफल आरोहण गरेकोमा बधाई र सम्मान पनि गरे र नजिकैको एउटा टाकुराको नाम नै बहराइन पिक राखिदिए। नेपालीको सहृदयी भावना र आतिथ्यता देखेर बहराइनका राजकुमार र सिङ्गो टोली नै खुसी थिए।

यात्राकै क्रममा म आफैंले पनि धेरै कुराहरु सिक्ने मौका पनि पाएँ। बहराइनी टोलीसँग नजिक भएर काम गर्दा उनीहरुको संस्कृतिबारे पनि बुझ्न पाएँ। टोलीमा पर्वतारोहणमा नाम कहलिएका आरोहीहरु जस्तै कमिरिता शेर्पा, मिंग्मा शेर्पा, चाङ्ग दावा शेर्पा, टासी लाक्पा शेर्पा दाइहरुको पुराना अनुभव सुन्दा खुब रोमान्चित हुन्थें।

कोभिड-‍१९ को महामारीले आक्रान्त पारेको बेला, बहराइनी टोलीको आगमनले नेपालको पर्यटन क्षेत्रको ढोका पुनः खोल्ने प्रयास गरेको छ, यसलाई अवसरका रुपमा लिनुपर्छ। सजगता अपनाउँदै हिमाली पर्यटनमा आश्रित हजारौं जनजीवनलाई विस्तारै सामान्यीकरणतर्फ लैजानुपर्छ। अघिल्लो मंसिरमा सिजन सकिएर बन्द भएको हिमाली पर्यटन एक वर्षदेखि ठप्प हुँदा यसमा आश्रित परिवारको हालत के भएको होला, सरकार गम्भीर हुनुपर्छ। 

नेपालका हिमाली क्षेत्रलाई अझ सुरक्षित बनाउन जरुरी छ, थुप्रै काम गर्न र रुचि भएका चिकित्सकहरुलाई तालिम दिएर सिप सिकाउन जरुरी छ। पहिले पर्वतारोहण टोलीले विदेशी चिकित्सक नै लिएर आउनुपर्ने बाध्यताबाट थोरै अघि बढ्दै छौं, माउन्टेन मेडिसिन सोसाइटी अफ नेपालको पहलमा।  

यो यात्रा मेरो लागि पनि रमाइलो रह्यो र कोभिडले फेरिदिएको दिनचर्याबाट सानो छुट्टीको रुपमा पनि लिएँ। नयाँ अनुभव र नयाँ पाठहरु सिक्दै यात्रा सकायौं, छिट्टै हिमालमा पुनः फर्कन पाइने विश्वास सहित। आखिर जीवन, नयाँ अनुभवको यात्रा न हो। स्रोत- स्वास्थ्य खवर


प्रकाशित | १८ कार्तिक २०७७, मंगलवार ०९:१२