मेक्सिकोमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु

काठमाडौँ । मध्य मेक्सिकोमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु भएको छ । मिचोआकन राज्यको लास टिनाजस शहरमा आयोजित एक उत्सवमा सहभागीहरुमाथि गोली चल्दा २० जनाको मृत्यु भएको हो । घटनास्थलबाट १६ पुरुष र ३ महिला गरी १९ जनाको शव संकलन गरिएको थियो । एकजनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

अस्पतालमा ६ जनाको उपचार जारी रहेको सीबीएस न्यूजले जनाएको छ । मिचोआकनको सार्वजनिक सुरक्षा सचिवको कार्यालयले हत्याको कारण नखुलेको र अनुसन्धान जारी रहेको जनाएको छ । मिचोआकन र त्यसको छिमेकी गुआनाजुआतो मेक्सिकोको सबैभन्दा बढी हिंसा हुने क्षेत्रको रुपमा चिनिन्छन् ।

लागू औषध कारोबार र अन्य अवैध गतिविधिका कारण विभिन्न समूहबीच झडप हुने गर्दछ । गत महिनामात्रै मिचोआकनमा भएको एक आक्रमणमा १७ जनाको मृत्यु भएको थियो ।


प्रकाशित | १५ चैत्र २०७८, मंगलवार ०८:१५