एनआरएनए नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक: पशुपति क्षेत्रमा बृद्धाश्रम बनाउने निर्णय

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पशुपति क्षेत्रमा १०० कोठाको आधुनिक सुविधा सम्पन्न बृद्धाश्रम बनाउने निर्णय गरेको छ । संघको नवनिर्वाचित कार्यसमितिको ८४ औ बैठकले काठमाडौ स्थित पशुपति क्षेत्रमा बृद्धाश्रम बनाउने निर्णय गरेको हो ।

नवनिर्वाचित अध्यक्ष कुल आचार्यले नेपाल सरकार तथा पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरी एउटा वृद्धाश्रम बनाउन प्रस्ताव राख्नु भएको थियो । उहाँले राखेको प्रस्तावलाई कार्य समितिको पहिलो बैठकले पारित गरेको हो ।

आचार्यले आफ्नो तर्फबाट उक्त परियोजनाका लागि रु एक करोड सहयोग गर्ने घोषणा गर्नु भयो । उक्त वृद्धाश्रमका लागि उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव गौरी जोशी तथा कोषाध्यक्ष सुनिल साहले २५/२५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गर्नु भयो ।

त्यस्तै अर्का महासचिव डा. केशव पौडेलले रु १० लाख प्रदान गर्ने घोषणा गर्नु भयो । पहिलो बैठकबाटै उक्त परियोजनाका लागि ३ करोड ५६ लाख भन्दा बढी रकमको प्रतिबद्धता व्यक्त गरिएको छ ।

अर्का नवनिर्वाचित अध्यक्ष बद्रि केसीले यो कार्यकालमा स्मार्ट एप प्रयोग गरेर ‘क्राउड फन्डिंग’ गर्ने बताउनु भयो । उहाँले कूल परियोजना लागतको ३३/३३ प्रतिशत रकम उठाउने जिम्मा तीनै जना अध्यक्षले लिने बताउनु भयो ।

उक्त बैठकले वृद्धाश्रम बनाउनका लागि सकभर पशुपति क्षेत्रमै जग्गा उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने भन्ने प्रस्ताव पनि पारित गरेको छ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाए पछि रकम उठाउन शुरु गर्ने उहाँले बताउनु भयो। संघको केन्द्रीय सचिवालयले उक्त परियोजनाको लागि १५ देखि १७ करोडसम्म लागत लाग्न सक्ने अनुमान गरेको छ।

त्यस्तै, बैठकले संघको आगामी कार्यकाल संचालनको लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा २ जना महासचिव गौरीराज जोशी र डा केशव पौडेल, प्रवक्ता सोम सापकोटा र शिवकुमार बरुवाल रहने गरी कार्यदल गठन गरिएको छ ।

संघका राष्ट्रिय समिति (एनसिसिहरु) मा भएका समस्या समाधानका लागि महासचिवद्वय गौरीराज जोशी र डा केशव पौडेललाई क्षेत्रीय संयोजकहरुसंग समन्वय गरि समाधान गर्ने जिम्मा दिने निर्णय भएको छ ।

संघका प्रवक्ताद्धय शिव वरुवाल र सोम सापकोटाद्धारा सोमवार जारी विज्ञप्ति अनुसार संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक आगामी ९ अप्रिल २०२२ नेपाली समय ४ बजे बस्ने छ ।


प्रकाशित | १५ चैत्र २०७८, मंगलवार ००:००