घले पक्षद्धारा आधिकारिकता दावी गदै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता (पत्रसहित)

काठमाडौं – डा. शेष घले पक्षले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा आधिकारिकता दावी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गराएको छ । घले पक्षले विनोद कुँवरको नेतृत्वमा गठित नयाँ कार्यसमितिलाई आधिकारिकता दावी गर्दै आइतबार परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गराएको हो ।

घले पक्षले २२ मार्चदेखि २४ मार्चसम्म काठमाडौंको याक एण्ड यति होटेलमा छुट्टै दशौं महाधिवेशन आयोजना गर्दै कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो ।

मन्त्रालयमा पेश गरिएको निवदेनको दर्ता नम्बर ६,३१५ छ । निवेदनमा संशोधित गैर आवासीय नेपाली संघको विधानको स्वीकृति तथा प्रमाणीकरण गरिपाउँ भनी माग गरिएको छ । निवेदनसहित संशोधीत विधान दुई प्रति, संशोेधित विधानको तिन महले दुई प्रति र १० औं अन्तराष्टिय महाधिवेशनबाट पारित निर्णय पनि पेश गरिएको छ ।

‘गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को केहि ब्यवस्थालाई संशोधन गर्ने गरि निर्णय पारित भएको हुँदा उक्त निर्णयलाई अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको मिति २०७८/१२/१२ को बैठकबाट सम्बोधन गरि विधानको दफा २९ बमोजीम विधानको संशोधीत ब्यवस्थाहरु त्यहाँ मन्त्रालयबाट स्वीकृति तथा प्रमाणीकरण गर्न हार्दिक अनुरोध गर्दछु’, विनोद कुँवरको हस्ताक्षरित निवेदनमा भनीएको छ ।

साथै सचिवालयको तर्फबाट दर्ता लगायत सम्पुर्ण कार्य गर्न अधिवक्ता आशिष उप्रेत्तिलाई अख्तियारी दिएको उल्लेख छ ।

घले पक्षको छुट्टै भेलाले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो । तर यता संस्थापन पक्षले आयोजना गरेको दशौ महाधिवेशन तथा विश्व सम्मेलन भने जारी छ । शनिबारदेखि शुरु महाधिवेशनले बहुअध्यक्षात्मक प्रणालीको विधान संशोधन प्रस्ताव पारित गर्दै परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गरेर आजै सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्दैछ ।


प्रकाशित | १३ चैत्र २०७८, आईतवार १६:००