अमेरिकाले युरोपलाई थप १५ अर्ब घनमिटर ग्यास दिने

काठमाडौं-अमेरिका र युरोपबीच उर्जासम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षार भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन युरोप भ्रमणमा रहेका बेला यो उर्जा सम्झौतामा हस्ताक्षार भएको हो ।

सम्झौताअनुसार अमेरिकाले युरोपेली युनियन ईयूमा थप १५ अर्ब घनमिटर ग्यास आपूर्ति गर्नेछ । यो वर्षको अन्त्यबाट अमेरिकाले युरोपतर्फ थप १५ अर्ब घनमिटर तरल प्राकृतिक ग्यास (एलएनजी)पठाउने विषयमा सम्झौता भएको बीबीसीले जनाएको छ ।

हाल ईयू रुसी उर्जामा निर्भर छ । युरोपमा ग्यास उपभोगको ४० प्रतिशत रुसले आपूर्ति गर्दै आएको बताइन्छ । युक्रेनमाथि रुसले आक्रमण गरेसँगै ईयूले यसअघि नै रुसी ग्यासको निर्भरतालाई यो वर्षको अन्त्यसम्म दुई तिहाईले घटाउने स्पष्ट पारिसकेको छ ।

कोरोना भाइरसको महामारीका कारण उसैपनि उच्च रहेको उर्जाको मूल्य युक्रेनमाथि रुसी आक्रमणसँगै अकाशिन पुगेको छ । यही क्रममा युरोप उर्जाका लागि नयाँ विकल्पको खोजीमा रहेका कारण पछिल्लो सम्झौतालाई निकै महत्वका साथ हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रकाशित | ११ चैत्र २०७८, शुक्रबार १५:१८