सूर्यविनायकका अधुरा योजना पूरा गर्न मेयर थापाको सक्रियता

भक्तपुर : पहिलो कार्यकालमा उदाहरणीय र नमूना कार्य गर्न सफल सूर्यविनायक नगरपालिका मेयर बासुदेव थापा अधुरा योजना पूरा गर्न सक्रियतापूर्वक लागिपर्नु भएको छ । दोस्रो कार्यकालमा निर्वाचीत हुनु भएपछिको पहिलो आर्थिक वर्षमा विनियोजित योजनाहरु पूरा गर्न सक्रियतापूर्वक लागिपर्नु भएको हो ।

मेयर थापाले अधुरा योजना पूरा गर्न र योजना समयमै सम्पन्न गर्न फिल्डमै निस्केर निरीक्षण गरिरहनु भएको छ । केहि समय अघि मात्र मेयर थापाको नेतृत्वमा १३ औं नगर अधिवेशन सर्वसम्मत सम्पन्न भएको थियो । सबै पक्षलाई समेटेर आफ्नो कार्यकालभरि हरेक निर्णयहरु सर्वसम्मत पारित गर्न सफल हुँदै आउनु भएको मेयर थापा नगरपालिकालाई कसरी सुखी र समृद्ध बनाउन सकिन्छ भनेर ध्यान केन्द्रित गरिरहनु भएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा २९१ र कार्यपालिका बैठकको निर्णयले ९३ गरी जम्मा ३८४ वटा योजना मध्ये हालसम्म १५२ वटा योजना सम्झौता भई १०५ वटा योजनाहरु सम्पन्न गरिसकेको छ । उज्यालो नगर प्रमुख कार्यक्रमबाट चालू आ.व.मा नगरपालिका क्षेत्रमा जम्मा ११८६ सडक बती जडान भएका छन् ।

चालु आर्थिक वर्षको हाल सम्म १३१९ वटा घर नक्सा सम्बन्धी कार्य सम्पन्न भएका छन् । नगरपालिकाको भूमि व्यवस्थापन तथा भवन निर्माण शाखालाई व्यवस्थित फाइलिङ प्रणालीका माध्यमबाट वडागत रुपमा नक्साहरुको पन्जीका सहितको अभिलेख तयार गरिएको छ ।

सूर्यविनायक नगरपालिकाको योजना तथा कार्यक्रम अनुगमन कार्यविधि स्वीकृत गरी पूर्वाधार तथा अन्य कार्यक्रम अनुगमनको लागि वडा तथा नगरस्तरीय अनुगमन समितिबाट आयोजनाहरुको अनुगमन गरी अनुगमन प्रतिवेदनको आधारमा मात्र योजना तथा कार्यक्रमको भुक्तानी दिने पद्धतिको कार्यान्वयनमा ल्याएको छ ।

हालसम्म ३० वटा ऐन सहित ८ वटा नियमावली र ४३ वटा कार्यविधि तथा निर्देशीकाहरु र २ वटा आचारसंहिता गरी जम्मा ८८ वटा कानूनहरु निर्माण भएका छन् । सूर्यविनायक नगरपालिकाको स्थानीय भू उपयोग परिषदको निर्णय बमाजिम कृषिक्षेत्रको राजस्व ८० प्रतिशत घटाउने र आवासीय क्षेत्रको हकमा शतप्रतिशत र व्यवसायिक क्षेत्रको हकमा दुई सय प्रतिशत राजस्व वृद्धि सहित राजस्वको दररेट समायोजन प्रस्ताव कार्यान्वयन आएको छ ।

त्यस्तैगरि, यस अवधिसम्म १८४६ जना जेष्ठ नागरिक परिचय पत्र तथा अपाङ्गता परिचयपत्र २१४ जनालाई वितरण, सूर्यविनायक नगरपालिका भित्रका स्थायी बसोबास गर्ने बासिन्दा मध्ये लोकसेवा आयोग तयारी कक्षा लिन इच्छुक व्यक्तिहरुलाई लोकसेवा तयारी कक्षामा सहभागी गराउनको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।


प्रकाशित | २४ माघ २०७९, मंगलवार १६:०३